जाजरकोटमा पहिरोले घर पुरिँदा आमाछोरा बेपत्ता, दुई जना घाइते

जाजरकोटमा पहिरोले घर पुरिँदा आमाछोरा बेपत्ता, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०८३
  • 646
    Shares

jajarkot pahiro

जाजरकोट, ३० साउन २०८३। जाजरकोटको भेरी नगरपालिका–१, खारुलामा शनिबार साँझ पहिरोले घर पुरिँदा आमाछोरा बेपत्ता भएका छन्।

पहिरोमा परी ८३ वर्षीया रति खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री बेपत्ता भएका सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अविरल वर्षासँगै आएको पहिरोले उनीहरू बस्दै आएको घर पुरेको हो। बेपत्ता दुवै जनाको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्ने प्रयास भइरहेको छ। तर, पहिरोका कारण घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुग्न सकेका छैनन्।

यसैगरी, भेरी नगरपालिका–१ कै रिसांगामा पहिरो जाँदा दुई जना घाइते भएका छन्। पहिरोमा परी ६० वर्षीय रामबहादुर शाही र ४५ वर्षीय सिद्धिबहादुर कामी घाइते भएका हुन्।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो। अस्पतालले रामबहादुरको अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको डीएसपी थापाले बताए।

पहिरोका कारण खारुलामा एक, गैरी गाउँमा चार र चिसापानीमा तीन गरी कम्तीमा आठ घर पुरिएका छन्।

घटनास्थलमा उद्धार तथा खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। तर, पहिरोका कारण सडक तथा बाटो अवरुद्ध हुँदा सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय क्षेत्रमा लगातार वर्षा भइरहेकाले थप पहिरोको जोखिमसमेत रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया