पोखरा , ३० साउन २०८३।
पोखरा महानगरपालिका–२६, सक्नेरीमा विजयपुर खोला तर्ने क्रममा शनिबार दुई बालक बगेर बेपत्ता भएका छन्।
भगवती हाइड्रोपावर नजिकैको विजयपुर खोला तर्ने क्रममा दिउँसो करिब १ बजे १४–१५ वर्ष उमेरका दुई बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। बेपत्ता दुवै बालकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।
उनीहरुलाई पोखरा–२६ कै विजयबस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउँदै गर्दा खोलाले बगाएको प्राप्त समाचारमा जनाइएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजी तथा उद्धारका लागि विभिन्न सुरक्षा निकायको टोली परिचालन गरेको छ।इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमान्डमा ७ जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रामजी देवकोटाको कमान्डमा ७ जना र वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको कमान्डमा ७ जना प्रहरी खोजीमा खटिएका छन्।
त्यस्तै, सशस्त्र प्रहरी बलको बेस क्याम्प कुडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमान्डमा नौ जना गोताखोरसहितको टोलीसमेत खोजी तथा उद्धारमा परिचालन गरिएको छ।
सुरक्षाकर्मीको टोलीले विजयपुर खोलाको विभिन्न क्षेत्रमा खोजी गरिरहेको छ भने प्रहरीले बेपत्ता बालकहरूको पहिचान तथा घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।