पोखरा , ३० साउन २०८३।
नुवाकोटको थानाभन्ज्याङमा रोकिराखेको बस अचानक गुडेर ईभी भ्यानलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीका अनुसार शनिबार बिहान पौने ९ बजे शिवपुरी गाउँपालिका–७ स्थित टोखा–छहरे सडकखण्डको थानाभन्ज्याङमा दुर्घटना भएको हो।
काठमाडौँबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस सडक छेउमा रोकेर चालक र यात्रुहरू खाजा खान गएको अवस्थामा अचानक आफैँ गुडेको थियो। अनियन्त्रित भएको बसले अगाडि रोकिराखिएको बा.प्र.०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि दुवै सवारीसाधन सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा बसमा रहेका पाँच जना महिलामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
दुर्घटनामा लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौँको काँडाघारी बस्दै आएकी २५ वर्षीया सुजता पोखरेलको दाहिने हातमा चोट लागेको छ। काभ्रेको बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठको बायाँ हातमा चोट लागेको छ भने दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठको टाउको र ढाडमा चोट लागेको छ।
घाइते तीनै जनाको काठमाडौँस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस रोकेर चालक तथा यात्रुहरू खाजा खान गएको अवस्थामा दुर्घटना भएकाले बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का ४५ वर्षीय सीताराम आचार्यलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।