नुवाकोटमा दुई वटा बस एकैपटक भीरबाट खसे : पांच महिला यात्रु घाइते

नुवाकोटमा दुई वटा बस एकैपटक भीरबाट खसे : पांच महिला यात्रु घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०८३
  • 798
    Shares

नुवाकोटमा खाजा खान रोकिएको बस अचानक गुडेर भिरबाट खस्दा पाँच जना यात्रु घाइते भएका छन्।

टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ स्थित थानाभन्ज्याङमा शनिबार बिहान करिब ८ः२५ बजे दुर्घटना भएको हो। काठमाडौँबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–१ ख ००५२ नम्बरको बस सडक छेउमा रोकिएको अवस्थामा अचानक आफैँ गुड्न थालेको थियो।

बसका चालकसहित अधिकांश यात्रु खाजा खान ओर्लिएका बेला अनियन्त्रित भएको बसले अगाडि रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। त्यसपछि दुवै सवारीसाधन सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख विनोद ढकालले जानकारी दिए।

दुर्घटनाका बेला खाजा खान ओर्लन नसकी बसभित्रै रहेका पाँच जना महिला यात्रु घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था मध्यम रहेको बताइएको छ।

ठक्करबाट भ्यानमा समेत क्षति पुगेको छ। भ्यानका चालक धादिङको नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय चुमन राना मगर भने घटनाका बेला भ्यानबाहिर रहेकाले सुरक्षित छन्।

घटनापछि प्रहरीले काभ्रेको पाँचखाल नगरपालिका–७ का ४५ वर्षीय बस चालक सीताराम आचार्यलाई नियन्त्रणमा लिएको छ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन। बस कसरी आफैँ गुड्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ। ब्रेक फेल भएको वा ह्यान्डब्रेक नलगाएका कारण बस गुडेको हो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया