बाजुरामा पहिरोमा घाइते महिलालाई थप उपचारका लागि धनगढी रिफर

बाजुरामा पहिरोमा घाइते महिलालाई थप उपचारका लागि धनगढी रिफर


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०८३
  • 950
    Shares

पोखरा , ३० साउन २०८३।

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा गएराति पहिरोमा परेर घाइते भएकी महिलालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । अबिरल वर्षासँगै घर पुरिँदा त्यसमा परी घाइते भएकी त्रिवेणी नगरपालिका–९ बस्ने अन्दाजी ४० वर्षीय धौली देवी रावललाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले घाइते रावलको टाउको, शरीर र दाहिने खुट्टामा चोट तथा नाकको हड्डी भाचिएकाले सिटी स्क्यानका लागि रिफर गरिएको बताए । उनका अनुसार जिल्ला अस्पतालको एम्बुलेन्समार्फत घाइते रावललाई थप उपचारका लागि लगिएको छ ।

यस्तै उक्त घटनामा परी घाइते भएका अर्का सोही ठाउँ बस्ने ४० वर्षीय धर्म थापाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर शाहीकाअनुसार पहिरोमा परी ज्यान गुमाएकी २० वर्षीय प्रतिक्षा थापाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

घरमाथिबाट आएको पहिरोले ताम्सुका स्थानीय धर्म थापा र कर्ण बहादुर थापाको घर परिएर पूर्ण रुपमा क्षति भएको छ । कर्ण बहादुरको घर परिँदा उनकी छोरी प्रतिक्षा पनि सोही घरभित्र बेपत्ता भएकोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु खटिएर खोजी कार्य गर्दा करिब १० घण्टापछि मात्रै शव भेटिएको थियो । साथैं उक्त गाउँमा केही अन्य घरहरु पनि पहिरोको जोखिममा रहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया