म्याग्दी, ३० साउन २०८३।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लाका दुई प्रमुख सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
कार्यालयका अनुसार बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडकमा आज साँझ ५ बजेदेखि शनिबार बिहान ७ बजेसम्म यातायात सञ्चालन बन्द गरिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी सूचनाअनुसार म्याग्दीमा आज राति भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा सडकमा हुनसक्ने अन्य जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमबाट यात्रु तथा सवारीसाधनलाई सुरक्षित राख्न सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ। मौसमको अवस्था र जोखिम मूल्याङ्कनका आधारमा सडक सञ्चालनसम्बन्धी थप निर्णय गरिने बताइएको छ।