स्याङ्जा, २९ साउन २०८३।
स्याङ्जामा खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका एक युवक मृत अवस्थामा भेटिएका छन्।
पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले बिहिबार राती बगाएर बेपत्ता भएका पुतलीबजार नगरपालिका–३ बाडखोला निवासी २१ वर्षीय सलिम मगर मृत भेटिएका हुन्। उनलाई ग.११ प. ८१८३ नम्बरको मोटरसाइकलसहित बगाएको थियो।
घटनापछि सिंहशार्दूल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म वालिङबाट खटिएको टोलीले बेपत्ता युवकको खोजी तथा उद्धारका लागि निरन्तर खोजतलास गरेको थियो।
खोजी गर्ने क्रममा मगरलाई साउन २९ गते दिउँसो ३ः१० बजे पुतलीबजार नगरपालिका–१३ गैरीजागरस्थित आँधीखोलामा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले शव खोलाबाट बाहिर निकाली आवश्यक मुचुल्का तयार गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।