पोखरा, २८ साउन २०८३।
भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।
मृत्यु हुनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पासवान आफू बस्दै आएको कोठाको पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ। उनको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
पासवान यसअघि काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए। सरकारले उक्त बस्तीका टहरा हटाएपछि उनी पछिल्लो समय भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा बस्दै आएका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।