सल्यानमा जीप भेरी नदीमा खस्यो : दुई युवा पौडिएर बाँच्न सफल, चालकसहित तीन जना बेपत्ता

सल्यानमा जीप भेरी नदीमा खस्यो : दुई युवा पौडिएर बाँच्न सफल, चालकसहित तीन जना बेपत्ता


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २८ साउन २०८३
  • 741
    Shares

पोखरा, २८ साउन २०८३।

सल्यानमा यात्रुबाहक बोलेरो जीप भेरी नदीमा खस्दा दुई युवा पौडिएर ज्यान जोगाउन सफल भएका छन्। दुर्घटनामा चालकसहित तीन जना भने बेपत्ता भएका छन्।

बालुवा संग्रहीबाट सल्लीबजारतर्फ फर्किने क्रममा छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको बन्द बडी जिप सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको हो।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन् । घाइते दुवै जना भेरी नदीमा पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए । दुर्घटनामा घाइते भएका दुवै जनाको सल्लीबजारस्थित सल्ली सिटी अस्पतालमा उपचार भइरहेको छ। तर दुर्घटनामा जिप चालक र जिप मालिक भेरी नदीमा बेपत्ता भएको बताइएको छ । उनीहरूको पहिचान तथा विस्तृत विवरण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

घटना लगत्तै स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा प्रहरी घटनास्थलमा पुगेर बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यमा जुटेका छन् ।  जिप भेरी नदीमा खसेकाले नदीको बहाव तथा गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख तथा सशस्त्र प्रहरी बल सल्यान प्रमुख सहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।  खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सुर्खेतबाट सशस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाउने गरी समन्वय भइरहेको प्रतिनिधि सभा सदस्य रमेश मल्लले जानकारी दिए । 

प्रतिक्रिया