ब्रोड पिकमा हिमपहिरो : निर्मल पुर्जा नेतृत्वको अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन

ब्रोड पिकमा हिमपहिरो : निर्मल पुर्जा नेतृत्वको अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १५ साउन २०८३
  • 874
    Shares

काठमाडौं, १५ साउन २०८३।

नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएको छ।

पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। घटनालगत्तै टोलीसँग सम्पर्क विच्छेद भएको र उनीहरूको अवस्थाबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।

बेपत्ता टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी नागरिक तथा पाँच नेपाली आरोहीसहित विभिन्न देशका सदस्य रहेका छन्। हिमपहिरोपछि उनीहरूको अवस्थाबारे खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

मौसम अनुकूल भएमा हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ। पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग समन्वय गर्दै आवश्यक स्रोतसाधन परिचालनको प्रक्रिया अघि बढाइएको जनाएको छ।

क्लबले हेलिकोप्टर सहयोग सुनिश्चित गर्न पहल भइरहेको उल्लेख गर्दै बेपत्ता आरोहीहरूको सकुशल उद्धारको कामना गरेको छ। साथै, उनीहरूका परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता पनि व्यक्त गरेको छ।

विश्वको १२औँ अग्लो हिमाल मानिने ब्रोड पिक पर्वतारोहणका लागि अत्यन्तै चुनौतीपूर्ण हिमालमध्ये एक हो।

निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेका थिए। हाल उनी नेतृत्व गरिरहेको टोली सम्पर्कविहीन भएपछि अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा चिन्ता बढेको छ।

प्रतिक्रिया