पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई दिइँदै आएको सहुलियत थप दुई वर्ष दिने सरकारको निर्णय

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई दिइँदै आएको सहुलियत थप दुई वर्ष दिने सरकारको निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ साउन २०८३
  • 969
    Shares

पोखरा , ७ साउन २०८३।

 सरकारले पोखरा र गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीहरूलाई दिँदै आएको सहुलियतलाई थप दुई वर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८५ साल भदौ मसान्तसम्म यी दुई विमानस्थल प्रयोग गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सरकारले पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क शतप्रतिशत छुट दिने निर्णय गरेको छ। साथै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने प्रस्ताव पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

सरकारको यो निर्णयसँगै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार हुने अपेक्षा गरिएको छ। विशेषगरी पोखराबाट दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान थपिने र नयाँ विदेशी वायुसेवा कम्पनी नेपाल भित्र्याउन सहज हुने विश्वास सरोकारवालाले व्यक्त गरेका छन्।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले लामो समयदेखि भइरहेको पहल र समन्वयपछि आएको यो निर्णयलाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “यो निर्णयले पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ। यस निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल तथा मन्त्रालयप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

सरकारको यो निर्णयले लामो समयदेखि अपेक्षित अन्तर्राष्ट्रिय उडान विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया