प्रधानमन्त्री शाहको प्रमुख राजनीतिक सल्लाहकार बेनको भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट

प्रधानमन्त्री शाहको प्रमुख राजनीतिक सल्लाहकार बेनको भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ साउन २०८३
  • 1.3K
    Shares

kumar ben with ajut dobal

पोखरा , ७ साउन २०८३।

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी : प्रमुख राजनीतिक सल्लाहकार बेनले अजित डोभालसँग गरे भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतको नयाँ दिल्ली पुगेर राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको खुलासा भएको छ। स्रोतका अनुसार जुलाईको पहिलो साता भएको उक्त भेटमा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण, नेपाल–भारत सम्बन्ध र दुई देशबीचको सहकार्यका विषयमा छलफल भएको थियो।

सरकार गठन भएको करिब सय दिनपछि प्रधानमन्त्री शाह विदेश भ्रमणको तयारीमा जुटेका छन्। कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा अझै औपचारिक निर्णय नभए पनि भारत भ्रमणलाई प्राथमिकतामा राखिएको संकेतस्वरूप सल्लाहकार बेनलाई दिल्ली पठाइएको स्रोतहरूको भनाइ छ।

प्रधानमन्त्री कार्यालय तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्रोतका अनुसार बेन रोशन खड्कासहित दिल्ली पुगेका थिए। त्यहाँ उनले राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँगै भारतको विदेश मन्त्रालयका केही उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।

स्रोतका अनुसार उक्त भेटमा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डा, तयारी तथा बालेन नेतृत्वको सरकारको छिमेक नीतिबारे विस्तृत छलफल भएको थियो। प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार डोभालले प्रधानमन्त्री शाहलाई सकेसम्म छिट्टै भारत भ्रमण गराउनुपर्ने धारणा राखेका थिए।

उनका अनुसार डोभालले युवा प्रधानमन्त्रीका रूपमा शाहको प्रारम्भिक भ्रमणलाई विशेष महत्वका साथ हेर्दै भारत सरकार उनलाई नयाँ दिल्लीमा स्वागत गर्न इच्छुक रहेको सन्देश दिएका थिए। यद्यपि भ्रमणको मिति भने अझै तय भइसकेको छैन।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा नेपालको नयाँ सरकारका प्राथमिकता र नीति सम्बन्धमा भारतीय पक्षलाई जानकारी गराइसकेका थिए। त्यसैले बेन–डोभाल भेट मुख्यतः प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणमा केन्द्रित रहेको बताइएको छ।

डोभाल भारत सरकारका सबैभन्दा प्रभावशाली सुरक्षा तथा रणनीतिक अधिकारीमध्ये एक मानिन्छन्। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र डोभाल विदेशमन्त्री एस. जयशंकर र विदेश सचिव विक्रम मिश्रीसँग मिलेर भारतको उच्चस्तरीय कूटनीतिक टोलीको नेतृत्व गर्ने व्यक्तिका रूपमा परिचित छन्।

स्रोतका अनुसार दिल्ली भ्रमणबाट फर्किएपछि बेनले प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेलाई भेटवार्ताबारे ब्रिफिङ गरिसकेका छन्। त्यसलगत्तै प्रधानमन्त्री शाह र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच पहिलो पटक एक्लाएक्लै भेटवार्ता हुने तयारी गरिएको छ।

परराष्ट्र मन्त्रालय सम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण सम्भवतः सेप्टेम्बरअघि हुन सक्ने अनुमान गरिएको छ। सेप्टेम्बर ८ देखि सुरु हुने संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जानुअघि भारत भ्रमण गराउने तयारी भइरहेको बताइएको छ।

यसैबीच प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणबारे पनि चर्चा सुरु भएको छ। सुरक्षा स्रोतहरूका अनुसार साउन महिनाका सोमबार पारेर मोदीले पशुपतिनाथ मन्दिरमा पूजा गर्न तथा लुम्बिनी भ्रमण गर्न सक्ने सम्भावनाबारे आन्तरिक तयारी भइरहेको छ।

रास्वपा निकट एक नेताका अनुसार सभापति रवि लामिछानेसँगको भेटमा पनि प्रधानमन्त्री मोदीले नेपाल भ्रमण र धार्मिक स्थलहरूको अवलोकन गर्ने इच्छा व्यक्त गरेका थिए। यद्यपि यसबारे नेपाल वा भारत सरकारका तर्फबाट हालसम्म कुनै औपचारिक घोषणा गरिएको छैन।

प्रतिक्रिया