पोखरा , ६ साउन २०८३।
अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकामा आएको बाढीले एक वृद्धलाई बगाएर बेपत्ता बनाएको छ भने चार जना जोखिमपूर्ण अवस्थामा फसेका छन्।
गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा आएको बाढीले करिब ७३ वर्षीय स्थानीय चसमान तामाङलाई बगाएको हो। बुधबार राति करिब ११ बजेदेखि आएको बाढीले तामाङलाई बगाएर बेपत्ता बनाएको वडा अध्यक्ष निमगेलि शेर्पाले जानकारी दिए।
वडा अध्यक्ष शेर्पाका अनुसार गौरीशंकर–९ को मुलखर्क क्षेत्रमा आएको बाढीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत चार जना कर्मचारीसमेत जोखिममा परेका छन्। बाढीका कारण कर्मचारीहरू सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ दुई खोलाको बीचमा फसेका छन्।
बाढीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम क्षेत्रमा समेत क्षति पुर्याएको छ। खोलाले दुवैतर्फको जमिन कटान गरेपछि त्यहाँ रहेका कर्मचारीहरू उद्धारको पर्खाइमा रहेका हुन्।
खोलामा पानीको बहाव अझै उच्च रहेकाले उद्धार कार्य कठिन भइरहेको वडा अध्यक्ष शेर्पाले बताएका छन्। उद्धारका लागि आवश्यक पहल भइरहेको जनाइएको छ।