काठमाडौँ, ६ साउन २०८३।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन् ।
मंगलबार शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोज्दा प्रहरीले रामेछापको दोरम्बा गाउँपालिका–१ का २७ वर्षीय विशाल तामाङलाई नियन्त्रणमा लिएको हो ।
बालाजुस्थित एक बेकरी उद्योगमा काम गर्दै आएका र जोरपाटी बस्दै आएका तामाङले स्थानीय लामा पम्पबाट पेट्रोल किनेर शितलनिवास पुगेका थिए । शितलनिवास अगाडि पेट्रोल छर्कन खोज्दा ड्युटीमा रहेका प्रहरीले तत्कालै हस्तक्षेप गरी उनको साथबाट पेट्रोल बरामद गरेका थिए ।
प्रहरीसँगको बयानका क्रममा तामाङले पूर्वराजालाई भेट्न पाँच पटकसम्म प्रयास गरे पनि सम्भव नभएपछि निराश भएर यस्तो कदम चाल्न बाध्य भएको बताएका छन् ।
नियन्त्रणमा लिइएका तामाङलाई त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण र आवश्यक काउन्सेलिङ गराएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।