पोखरा, ५ साउन २०८३।
विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्ध दायर भ्रष्टाचार मुद्दा तत्कालका लागि मुलतवी (थाँती) राख्न अस्वीकार गरेको छ। महतको स्वास्थ्य अवस्थालाई आधार बनाएर उनकी पत्नी रोशना महतले दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।
विशेष अदालतका सदस्य हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले हालको अवस्थामा मुद्दा स्थगित गर्न नमिल्ने निष्कर्ष निकालेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा डा. महतलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
अदालतबाट बयानका लागि म्याद जारी भएपछि महतकी पत्नी रोशना महतले निवेदन दिँदै डा. महत ‘फ्रन्टोटेम्पोरल डिमेन्सिया’ रोगबाट पीडित रहेको, स्मरणशक्ति गुमेको र बयान दिन सक्ने अवस्थामा नरहेको दाबी गरेकी थिइन्। उनले नेपाल मेडिकल बोर्डको स्वास्थ्य प्रतिवेदनसमेत पेश गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ अनुसार मुद्दा मुलतवी राख्न माग गरेकी थिइन्।
तर दुवै पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले तत्काल निवेदनअनुसार मुद्दा स्थगित गर्न नमिल्ने आदेश दिएको छ। अदालतले डा. महत अदालतमा उपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई प्रत्यक्ष रूपमा मूल्याङ्कन गरी आवश्यक कानुनी निर्णय लिन सकिने उल्लेख गरेको छ।
आदेशमा भनिएको छ कि, प्रतिवादी अदालतमा उपस्थित भएपछि उनको स्वास्थ्य अवस्था हेरेर कानुनबमोजिम उपयुक्त आदेश जारी गर्न सकिने भएकाले हाललाई मुद्दा मुलतवी राख्ने आधार नदेखिएको हो।
डा. महतको पक्षबाट वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, ललितबहादुर बस्नेत र अधिवक्ता प्रदीपकुमार पोखरेलले बहस गरेका थिए भने नेपाल सरकारका तर्फबाट उपन्यायाधिवक्ता भीमसेन काफ्लेले बहस गरेका थिए।
चिकित्सकका अनुसार ‘फ्रन्टोटेम्पोरल डिमेन्सिया’ मस्तिष्कको अगाडिको भागमा असर गर्ने गम्भीर स्नायुरोग हो, जसले व्यक्तिको व्यवहार, व्यक्तित्व, निर्णय क्षमता तथा भाषामा गम्भीर प्रभाव पार्न सक्छ। यही स्वास्थ्य समस्याका कारण डा. महत पछिल्ला केही समयदेखि सार्वजनिक गतिविधिबाट टाढा रहेका छन्।