१ र २ रुपैयाँका नयाँ सिक्का आउँदै : ‘चुच्चे नक्सा’ हट्ने चर्चाबारे राष्ट्र बैंक के भन्छ ?

१ र २ रुपैयाँका नयाँ सिक्का आउँदै : ‘चुच्चे नक्सा’ हट्ने चर्चाबारे राष्ट्र बैंक के भन्छ ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ साउन २०८३
  • 665
    Shares

new coin designed , नयाँ सिक्काको डिजाइन

काठमाडौं, २ साउन २०८३।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति दिएपछि सिक्कामा रहेको नेपालको ‘चुच्चे नक्सा’ हटाइने चर्चा चुलिएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमसम्म सिक्काको डिजाइन परिवर्तनलाई लिएर बहस सुरु भएको हो। कतिपयले सरकारको निर्णयको आलोचना समेत गरेका छन्।

तर, मन्त्रिपरिषद्को निर्णयको विस्तृत विवरण सार्वजनिक नभइसकेकाले सिक्काबाट नेपालको नयाँ नक्सा हटाउने विषयमा आधिकारिक पुष्टि हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकका अनुसार प्रचलित कानुनअनुसार स्वीकृत डिजाइन, आकार र तौलअनुसारका नोट तथा सिक्का निष्कासन गर्न राष्ट्र बैंक स्वतन्त्र हुन्छ। तर, सिक्काको डिजाइन, आकार वा तौल परिवर्तन गर्न भने मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्छ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले नयाँ डिजाइनका सिक्का निष्कासनका लागि सरकारबाट स्वीकृति प्राप्त हुनु डिजाइन परिवर्तनको संकेत भए पनि मन्त्रिपरिषद्को आधिकारिक निर्णय राष्ट्र बैंकमा प्राप्त नभएकाले अहिले नै स्पष्ट धारणा बनाउन नसकिने बताए।

सिक्कामा लो घ्याकर गुम्बाको चित्र राख्ने तयारी?

स्रोतका अनुसार प्रस्तावित नयाँ सिक्काको अगाडिको भागमा हाल रहेको नेपालको चुच्चे नक्साको स्थानमा मुस्ताङस्थित ऐतिहासिक लो घ्याकर (घार) गुम्बाको चित्र राख्ने तयारी गरिएको छ।

सातौँ शताब्दीमा निर्माण भएको मानिने यो गुम्बालाई नेपालको सबैभन्दा पुरानो गुम्बामध्ये एक मानिन्छ। यसको निर्माण गुरु पद्मसम्भवसँग जोडिएको धार्मिक तथा ऐतिहासिक विश्वास रहेको छ।

ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर गुम्बाको चित्र सिक्कामा समावेश गर्ने प्रस्ताव गरिएको बताइएको छ।

२०७८ सालमा आएको थियो चुच्चे नक्सासहितको सिक्का

२०७७ सालमा संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित भएपछि २०७८ सालमा सोही नक्सा अंकित सिक्का सार्वजनिक गरिएको थियो।

यदि प्रस्तावित नयाँ डिजाइन लागू भएमा उक्त चुच्चे नक्सा सिक्काबाट हट्नेछ।

यसैबीच, लो घ्याकर गुम्बाको संरक्षण तथा पुनर्निर्माण अमेरिकी दूतावासमार्फत सञ्चालित Ambassadors Fund for Cultural Preservation कार्यक्रमको सहयोगमा भएको विषयलाई लिएर केही पक्षले भूराजनीतिक कोणबाट समेत टिप्पणी गरिरहेका छन्।

तर, मन्त्रिपरिषद्को पूर्ण निर्णय र नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आधिकारिक डिजाइन नआएसम्म सिक्काको अन्तिम स्वरूपबारे यकिन निष्कर्ष निकाल्न सकिने अवस्था छैन।

प्रतिक्रिया