पाेखरा बसपार्कभित्रका सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढ्यो, प्रारम्भिक नामावली साउन २ गते सार्वजनिक हुने

पाेखरा बसपार्कभित्रका सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढ्यो, प्रारम्भिक नामावली साउन २ गते सार्वजनिक हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३२ असार २०८३
  • 1.1K
    Shares

पोखरा, ३२ असार २०८३।

पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारहरूको व्यवस्थापन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। यसका लागि गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन महानगरपालिकाले ग्रहण गरेको जनाएको छ।

महानगरपालिकाका अनुसार बसपार्क क्षेत्र खाली गराउने उद्देश्यका साथ तयार पारिएको प्रतिवेदनका आधारमा चरणबद्ध रूपमा व्यवस्थापन प्रक्रिया अघि बढाइनेछ।

सार्वजनिक कार्यतालिका अनुसार सर्वप्रथम सहजीकरण समितिसँग छलफल गरी प्रतिवेदनबारे जानकारी गराइनेछ। त्यसपछि असार ३२ गते र साउन १ गते वास्तविक घरधुरी विवरण तथा प्रतिवेदनमा समावेश तथ्याङ्कको मिलान (ट्याली) गरिनेछ।

महानगरपालिकाले साउन २ गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने जनाएको छ। नामावली सार्वजनिक भएपछि सुझाव, दाबी तथा विरोध दर्ताका लागि सात दिनको समय दिइनेछ।

सातदिने अवधि सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने र त्यसका आधारमा स्थानान्तरण गरिने स्थान देखाइने महानगरपालिकाले जनाएको छ। स्थान देखाइएको मितिबाट सात दिनभित्र सम्बन्धित बस्ती खाली गर्ने प्रक्रिया सुरु गरिनेछ।

महानगरपालिकाले सम्पूर्ण प्रक्रिया व्यवस्थित, पारदर्शी र न्यायोचित ढंगबाट सम्पन्न गरिने बताउँदै यसमा सबै सरोकारवाला पक्षको सहयोग र सहकार्यको अपेक्षा गरेको छ।

प्रतिक्रिया