पोखरा, ३१ असार २०८३।
मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। नेपाली कांग्रेसको तर्फबाट प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन्।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्। उनीहरूको राजीनामा हाल स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ।
राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सामूहिक रूपमा राजीनामा बुझाइएको पुष्टि गर्दै अहिले स्वीकृतिको प्रतीक्षामा रहेको बताएका छन्।
यता, स्वास्थ्य उपचारका लागि हाल थाइल्यान्डको बैंककमा रहेका आर्थिक मामिला मन्त्री राजीवविक्रम शाहले भने आफू विदेश प्रस्थान गर्नुअघि नै नेपाली कांग्रेस संसदीय दलका नेतासमक्ष राजीनामा बुझाएर गएको जानकारी दिएका छन्।
कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामासँगै कर्णाली प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक विकास हुने अनुमान गरिएको छ। यद्यपि राजीनामाको औपचारिक स्वीकृति तथा त्यसपछिको राजनीतिक प्रक्रियाबारे थप विवरण आउन बाँकी रहेको छ।