नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका १६ जना कसलाई कति सजाय ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका १६ जना कसलाई कति सजाय ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ असार २०८३
  • 874
    Shares

nakkali bhutni sharanaarthi prkaran, नककली भुटानी शरणार्थी प्रकरणमा दाेषी ठहर भएका अभियुक्तहरू

पोखरा, ३१ सार २०८३।

नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका १६ जनाको सजाय निर्धारण गरिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई दिनको सुनुवाइपछि मंगलबार सजाय निर्धारण गरेको हो।

जसमा मुख्य दोषीलाई ४ वर्ष र मतियारलाई २ वर्ष कैद सजाय तोकिएको छ। जसमा १० जनालाई ४ वर्ष कैदको फैसला भएको छ।

उनीहरूलाई छुट्टाछुट्टै कसुरमा छुट्टाछुट्टै सजाय निर्धारण गरिए पनि एकीकृत कसुरमा तोकिएको सजाय नै भुक्तान गर्नुपर्ने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

यसअघि दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि हिजो सोमबारलाई पेसी तोकिएको थियो। सुनुवाइ नसकेपछि हेर्दाहेर्दैमा राखेर आज मंगलबार सजाय सुनाइएको हो।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जना मुख्य दोषी ठहर भएका थिए भने पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ६ जना मतियारको रूपमा दोषी ठहर भएका थिए।

रायमाझीलाई ठगीसम्बन्धी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तोकिएको छ। संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तोकिएको छ।

राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना तोकिएकोमा सरकारी ओहदामा समेत रहेकाले उनलाई थप ६ महिना कैद तोकिएको छ।

यीसबैसहित एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकिएको छ। रायमाझीसहित मुख्य दोषी ठहर भएकाहरू पुर्पक्षका लागि थुनामै छन्।

पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, बिचौलिया भनिएका विक्रम भन्ने गोबिन्दकुमार चौधरीलाई पनि ४ वर्ष कैद र ४० हजार जरिबाना सुनाइएको छ।

उनलाई ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष र राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद तोकिएको हो। तर एकीकृत कसुरमा समान ४ वर्ष कैद र ४० हजार जरिबाना सुनाइएको छ।

यस्तै मुख्य भूमिका देखिएका भनिएका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा र डा. इन्द्रजित राईलाई पनि समान ४ वर्ष कैद र ४० हजार जरिबाना एकीकृत कसुरमा तोकिएको छ।

७५ वर्ष नाघेका राईले बाँकी कैदको ७५ प्रतिशत छुट पाउने भएका छन्। यसबापत ७ महिना ७ दिन कैद छुट पाउने भएकाले उनले अब २ महिना कैद र ४० हजार जरिबाना भुक्तान गरेर थुनामुक्त हुन पाउने भएका छन्।

मतियारको रूपमा तीन कसुरमा दोषी ठहर भएका पूर्वगृहमन्त्री खाँणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना बुझाउन पर्ने भएको छ।

उनलाई ठगीमा १ वर्ष कैद र १० हजार जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र ५ हजार जरिबाना, राज्यविरुद्धको कसुरमा ६ महिना र सरकारी ओहदामा भएबापत थप ३ महिना कैद तोकिएको छ। यो कसुरमा ५ हजार जरिबाना तोकिए पनि एकीकृत कसुरतर्फ २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तोकिएकाले खाँणले यही सजाय भुक्तान गर्नुपर्नेछ।

उनी गृहमन्त्री हुँदा स्वकीय सचिव नरेन्द्र केसीलाई ठगीमा ६ महिना, संगठित अपराधमा ९ महिना र राज्यविरुद्धको कसुरमा ६ महिना कैद तोकिएको छ।

एकीकृत कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तोकिएको छ। हज समितिका तत्कालीन अध्यक्ष शमशेर मियालाई पनि तीनवटै कसुरमा दोषी ठहर गरिएको छ।

उनलाई ठगीमा ६ महिना, संगठित अपराधमा ९ महिना र राज्यविरुद्धको कसुरमा ६ महिना कैद तोकिए पनि एकीकृत कसुरतर्फ एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तोकिएको छ।

हरिभक्त महर्जन र निरन्जनकुमार खरेललाई समान एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तोकिएको छ। शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको छ।

ठगी उद्योगमा मात्रै दोषी ठहर भएका बेचन झालाई एक वर्ष कैद र १० हजार जरिबाना तोकिएको छ।

सकरारी लिखत किर्तेको कसुरमा अन्य प्रतिवादीले सफाइ पाए पनि टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी दोषी ठहर भएका थिए।

यो कसुरमा रिजाललाई एक वर्ष, भण्डारी र दुलाललाई २ वर्षका दरले कैद सजाय तोकिएको छ। तर उनीहरूले पनि एकीकृत कसुरमा तोकिएकै सजाय मात्र भुक्तान गर्नु पर्नेछ।

प्रतिक्रिया