काठमाडौं, ३० असार, २०८३ ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गरेका निर्णयबारे सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।
बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले नेपाल वायुसेवा निगम (नेवानि) सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय पनि गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा उनलाई उक्त जिम्मेवारी दिइएको सरकारका प्रवक्ताले बताए।
यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
सरकारको यो निर्णय मिटरब्याज पीडितहरू जनकपुरबाट र्यालीसहित काठमाडौंतर्फ आन्दोलनमा निस्किएका बेला आएको हो। सरकारका अनुसार विगतका आयोगहरूले दिएका सिफारिसहरू कार्यान्वयन प्रक्रियामा लैजान गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।
मन्त्रिपरिषद्का मुख्य पाँच निर्णय
- बीउबिजन (पहिलो संशोधन) नियमावली–२०८३ स्वीकृत गर्ने।
- सशस्त्र प्रहरी बलको खोज तथा उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने।
- अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी तथा सम्बन्धित प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने।
- महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गर्ने।
- अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने।