प्रसारण लाइन मर्मतमा खटिएको बिद्युतको टोली दुर्घटनामा, चालकसहित दुई जनाको मृत्यु, एक जना घाइते

प्रसारण लाइन मर्मतमा खटिएको बिद्युतको टोली दुर्घटनामा, चालकसहित दुई जनाको मृत्यु, एक जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० असार २०८३
  • 684
    Shares

पोखरा, ३० सार २०८३।

३३ केभी प्रसारण लाइनमा आएको अवरोध हटाउन राति कार्यक्षेत्रमा खटिएको नेपाल विद्युत प्राधिकरणको टोली सवार स्कोरपिओ दुर्घटनाग्रस्त हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक कर्मचारी घाइते भएका छन्।

कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुलनजिक सोमबार राति प्राधिकरणको बा.१ ञ १६५१ नम्बरको स्कोरपिओ अनियन्त्रित भई सडकमा पल्टिदा चालकसहित दुई जनाको मृत्यु भएको हो भने एक कर्मचारी घाइते भएका छन्।

दुर्घटनामा धरान उपमहानगरपालिका–१३ निवासी करिब ३३ वर्षीय चालक बिर्खबहादुर राई र धरान–१६ निवासी करिब ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राई प्राधिकरणका करार सेवाका चालक तथा आचार्य स्थायी हेल्पर थिए।

गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि चिकित्सकले राति करिब १२:४५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।

दुर्घटनामा धरान–२० निवासी करिब ३२ वर्षीय पदम राई घाइते भएका छन्। उनको प्रतिष्ठानमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार, धरानबाट इटहरीतर्फ जाँदै गरेको स्कोरपिओ सेउती पुलबाट करिब २०० मिटर दक्षिण, तरहरातर्फ पुगेपछि आफैं अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार राति ९:५४ बजे दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि मर्मत तथा पेट्रोलिङका लागि टोली परिचालन गरिएको थियो। लाइनमा आएको अवरोध पहिचान गरी मर्मत गर्न जाने क्रममा राति करिब ११:४० बजे स्कोरपिओ दुर्घटनामा परेको नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलले जानकारी दिए।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया