पोखरा, ३० सार २०८३।
जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ । सोमबार साँझ एक सार्वजनिक सूचना जारी गर्दै उक्त सडकखण्डमा सवारी साधन चलाउनमा रोक लगाएको हो ।
उक्त सार्वजनिक सुचनामा लगातार भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको जानकारी दिंदै अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको उल्लेख गरिएको छ।
यसैविच सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्रीले सोमबार साँझ साढे ७ बजे सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरी मुग्लिन नारायणगढ अवरुद्ध रहेको जानकारी दिएका छन् ।
उनका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा ढुंगा झरिरहेको छ, सेती दोभानमा माथिबाट लेदो आई सवारी आवनगमन दुईतर्फी अवरुद्ध बनेको छ। निरन्तर ठुलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको क्षेत्रीले जनाएका छन्।
‘सडक अवरुद्धका कारण रोकिएर बसेका सवारीसाधनहरू सुरक्षित स्थानतर्फ रहनुहुन आग्रह गरिन्छ’ उनले भनेका छन्, ‘निरन्तर वर्षा भैरहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्णलाई हार्दिक आग्रह गरिन्छ।’