घान्द्रुक-नयाँपुल सडक एकतर्फी सञ्चालनमा, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

घान्द्रुक-नयाँपुल सडक एकतर्फी सञ्चालनमा, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० असार २०८३
  • 1.9K
    Shares

पोखरा, ३० सार २०८३।

मोदी खोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–८, स्याउलीबजार क्षेत्रमा सडक बगाएपछि अवरुद्ध बनेको नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडक खण्ड सोमबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ।

अवरुद्ध उक्त सडक क्षेत्रमा गएको पहिरो गाउँपालिका, सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा डोजर लगाएर हटाई वैकल्पिक मार्ग निर्माण गरेर सडक अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो।

सडक खुले लगत्तै सडक अवरुद्ध हुँदा रोकिएका तीन बस, १३ जिप/कार/भ्यान, चार ट्याक्सी र सात मोटरसाइकलसहित २७ वटा सवारीसाधन गन्तव्यतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी चित्रांगत बरालले जानकारी दिए। घान्द्रुकमा रोकिएका थप सात सवारी पनि सुरक्षित रूपमा फर्किएका छन्। दुवै परिवारलाई लाखौं रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीले स्याउलीबजारका दुई घरमा ठूलो क्षति पुर्‍याएको छ। दिलीप गुरुङको रेष्टुरेन्ट पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेष्टुरेन्टमा आंशिक क्षति पुगेको प्रशासनले जनाएको छ। केही अन्य घरमा पनि बाढी पसेर भौतिक क्षति भएको छ। दुवै परिवारलाई लाखौं रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रशासनका अनुसार बिरेठाँटी बजार पनि जोखिममा परेको छ। बाढीले बजार नजिकै सडक छोइसकेको र वर्षा निरन्तर भए थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मोदी खोलाको बढ्दो बहावले जलविद्युत आयोजनाहरूमा समेत असर परेको जनाइएको छ।

अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले सम्भावित थप क्षति न्यूनीकरणका लागि जनप्रतिनिधि, सुरक्षा निकाय, उपल्लो मोदी हाइड्रो कम्पनी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय समुदाय प्रभावित क्षेत्रमा खटिएको जानकारी दिए। उनका अनुसार घान्द्रुक क्षेत्रमा रोकिएका पर्यटकलाई सुरक्षित रूपमा फर्काइएको छ।

उनले वर्षा नरोकिएको र मोदी खोलाको बहाव अझै उच्च रहेकाले नदी तथा खोलाछेउका बासिन्दालाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान र रातिको समयमा अनावश्यक यात्रा नगर्न आग्रह गरे।

यसअघि आइतबार परेको अविरल वर्षापछि किम्रुङ खोलामा आएको बाढीले अन्नपूर्ण पदमार्गको झोलुंगे पुल बगाएको थियो। त्यस्तै, सोमबार राति गएको पहिरोले अन्नपूर्ण गाउँपालिका–११, घान्द्रुकको वनठाँटी क्षेत्रमा दुई होटल, एक पक्की पुल तथा पदमार्गमा क्षति पुर्‍याएको थियो।

जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिउँसो मादी गाउँपालिका–३, याङ्जाकोट क्षेत्रमा पनि भारी वर्षा भएको र जिल्लाका अन्य स्थानमा समेत वर्षा जारी रहेकाले बाढी–पहिरोको जोखिम उच्च रहेको जनाएको छ। प्रशासनले स्थानीयलाई सचेत रहन, विपद् सम्बन्धी घटना भए तत्काल सूचना दिन तथा मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ।

प्रतिक्रिया