पोखरा, २९ असार २०८३ ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धाँमीगाउँका करिब ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन्।
प्रहरीका अनुसार, उनीहरू सोमबार बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका बेला घट्टमा बसिरहेका अवस्थामा माथिबाट खसेको पहिरोले पुरिएका थिए। घटनास्थलमै दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलमुडीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर पहिरोमा पुरिएका दुवै जनाको उद्धार गरेको थियो। उद्धारका क्रममा उनीहरूको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पहिरोका कारण पानीघट्टको आधा भागसमेत पुरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।