पत्रकारलाई प्रवेश नि:षेध गरेर भूमिहीनहरुलाई तत्काल राहत र लालपुर्जा दिने छ जना मन्त्रीहरुको आश्वासन

पत्रकारलाई प्रवेश नि:षेध गरेर भूमिहीनहरुलाई तत्काल राहत र लालपुर्जा दिने छ जना मन्त्रीहरुको आश्वासन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ असार २०८३
  • 1.4K
    Shares

काठमाडौं, २९ असार २०८३।

बालेन नेतृत्वको सरकारका छ जना मन्त्रीहरुले पत्रकार एबम सञ्चारकर्मीहरुलाई प्रवेश नि:षेध गरेर अब्यबस्थित बसोबासी र सुकुम्बासीहरुलाई तत्काल राहत र लालपुर्जा दिने आश्वासन दिएका छन्।

व्यवस्थित बसोबासको नाममा विभिन्न स्थानबाट स्थानान्तरण गरी खरीपाटीस्थित होल्डिङ सेन्टरमा राखिएका भूमिहीन तथा सुकुमबासीहरूलाई भेट्न लाइन लागेर भक्तपुरको खरीपाटी पुगेका नेपाल सरकारका छ जना मन्त्रीहरुले त्यस्तो आस्वाशन दिएका हुन्। खरीपाटी पुगेका मन्त्रीहरुमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल , गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव र महिला मन्त्री सीता वादी रहेका छन् ।

खरीपाटीमा जम्मा भएका सुकुम्बासी तथा अब्यबस्थितबासीहरुसंग अन्तरक्रिया गर्न छ जना मन्त्रीहरु पुगे पनि माथिको आदेश भन्दै कार्यक्रमस्थलमा संचारकर्मी-पत्रकारहरुलाई प्रवेश गर्न रोक लगाइएको प्राप्त समाचारमा जनाइएको छ।

उक्त कार्यक्रममा सहभागी बनेपा, खारिपाटी, नगरकोट र कीर्तिपुरका होल्डिङ सेन्टरमा राखिएका भूमिहीनहरूले उचित वैकल्पिक व्यवस्थापनबिना आफूहरूलाई हटाउन खोजिएको आरोप लगाए । उनीहरूले आफूहरुलाई राहतस्वरूप २५ हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरिए पनि दीर्घकालीन व्यवस्थापन सुनिश्चित नभएसम्म होल्डिङ सेन्टर छाड्न अस्वीकार गरेका समाचार स्रोतहरुले जानकारी दिएका छन्।

यसबीच, गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि उनको मृत्यु भएको घटनाले सरकारको भूमिकामाथि थप प्रश्न उठेको छ। त्यसलगत्तै शुक्रबार परेको अविरल वर्षाका कारण आएको बाढी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पसेपछि त्यहाँ रहेका परिवारहरू थप समस्यामा परेका थिए।

शनिबार सुरक्षाकर्मीको सहयोगमा कीर्तिपुरस्थित केही भूमिहीन परिवारलाई भक्तपुरको खारिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो। तर, केही परिवारले सुरक्षित र दीर्घकालीन व्यवस्थापनको सुनिश्चितता नभएसम्म स्थानान्तरण स्वीकार नगर्ने अडान कायम राखेका छन्।

मन्त्रीहरूले भूमिहीन तथा जग्गाविहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने सरकारी प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै धैर्य गर्न आग्रह गरेका थिए। मन्त्री रावलले असार तेस्रो सातादेखि लालपुर्जा वितरणसम्बन्धी प्रक्रिया सुरु भइसकेको दाबी गर्दै कानुनी प्रक्रिया पूरा गरेर मात्रै जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइने बताइन्। यद्यपि, प्रभावितहरूले कहिलेसम्म लालपुर्जा प्राप्त हुन्छ भन्ने स्पष्ट समयसीमा भने सरकारले दिन नसकेको बताए।

होल्डिङ सेन्टरमा रहेका परिवारहरूले बाढीका कारण आफूहरूको लत्ताकपडा, चप्पललगायत दैनिक उपभोगका सामग्रीसमेत नष्ट भएको भन्दै तत्काल राहत उपलब्ध गराउन माग गरेका थिए। त्यसको जवाफमा सामाजिक सुरक्षा मन्त्री सीता वादीले आवश्यक कपडा, चप्पल तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने प्रयास गरिने बताइन्।

यसैबीच, खारिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेका सञ्चारकर्मीलाई भने आइतबार भित्र प्रवेश गर्न नदिइएको गुनासो गरिएको छ। सुरक्षाकर्मीले माथिल्लो निकायको अनुमति आवश्यक रहेको भन्दै सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएको बताइएको छ।

होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको दीर्घकालीन व्यवस्थापन, राहत वितरण तथा लालपुर्जा उपलब्ध गराउने विषयमा सरकार र प्रभावितबीच अझै सहमति हुन बाँकी रहेको छ।

प्रतिक्रिया