काठमाडौं – मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीनवटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।
परराष्ट्रमन्त्री भएपछि उनले दुइटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कारपियो’ गरी तीनटा सरकारी गाडी प्रयोग गरिहेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कारपियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन् । अहिले स्कारपियो गाडीको नम्बर प्लेट ‘रातो’ बनाइएको छ । निजी सवारी साधनमा रातो नम्बर प्लेट प्रयोग हुन्छ । सरकारी नम्बर प्लेटको स्कारपियो गाडीलाई निजीमा परिवर्तन गरी उनले निवासको प्रयोजनमा राखेको स्रोतले बतायो ।
‘परराष्ट्रमन्त्रीज्यूले आफ्नो प्रयोजनका लागि तीनटा गाडी राख्नुभएको छ– दुईटा मर्सिडिज बेन्ज र एउटा स्कारपियो । मर्सिज गाडी कार्यालय प्रयोजनमा प्रयोग गर्नुभएको छ भने स्कारपियो गाडी निवासमा राख्नुभएको छ,’ स्रोतले भन्यो ।
२०६८ भदौमा सरकारले प्रधानमन्त्री, मन्त्री, सहायक तथा राज्य मन्त्रीको सेवासुविधा निर्धारण गरेको थियो । जसमा मन्त्रीलाई मासिक ६० हजार ९ सय ७० रुपैयाँ, एउटा गाडी, मासिक २ सय ७ लिटर पेट्रोल, वार्षिक २० लिटर मोबिल, सञ्चार सुविधा मासिक ३ हजार रुपैयाँ, मासिक मसलन्द खर्च ३ हजार ५ सय रुपैयाँ र जिल्ला भ्रमणमा जाँदा दैनिक ३ हजार रुपैयाँ भत्ता दिने उल्लेख छ । यस्तै, मन्त्रीको पारिश्रमिक र सुविधा ऐन, २०४९ मा पनि सवारीका निमित्त एउटा मोटर उपलब्ध गराइने उल्लेख छ ।
“नियमअनुसार एउटा गाडी पाइने भए पनि मन्त्री प्रकाशशरण महतले तीनटा गाडी प्रयोग गरिरहेका छन् ।”
‘मन्त्रीज्यूले तीनवटा गाडी प्रयोग गर्नुभएको छ भन्ने गलत हो । मन्त्रीज्यूले एउटा मात्र मर्सिडिज बेन्ज गाडी प्रयोग गर्नुभएको छ । जिल्लातिर जाँदा मर्सिडिजको झन्डा निकालेर स्कारपियो गाडीमा राखेर जानुहुन्छ,’ परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले भने, ‘एक साथ दुइटा गाडी प्रयोग गर्नुभएको छैन । जिल्लातिर जाँदा बाटो खराब हुने भएकाले स्कारपियो गाडीमा जानुहुन्छ ।’ परराष्ट्र स्रोतका अनुसार मन्त्री महतले बा२झ १९३८ र बा२झ १९३३ नम्बरको मर्सिडिज गाडी प्रयोग गरेका छन् । ‘दुइटा मर्सिडिज गाडी कार्यालय प्रयोजनमा आलोपालो प्रयोग गर्नुहुन्छ,’ स्रोतले भन्यो । मन्त्री महतले प्रयोग गरेका दुवै मर्सिडिज बेन्ज गत वर्ष कतार सरकारले नेपाललाई उपलब्ध गराएका ९ वटा बुलेट प्रुफमध्येका हुन् ।
कतार सरकारले २०७३ वैशाख २२ गते उपहारस्वरुप ९ वटा बुलेट प्रुफ मर्सिडिज बेन्ज नेपाललाई उपलब्ध गराएको थियो । ती गाडी तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले बुझेका थिए । सन् २०१४ मा काठमाडौंमा भएको सार्क १८औं शिखर सम्मेलनअघि कतारसँग मर्सिडिज बेन्ज किन्ने कुरा चलाइएको थियो । सार्क सदस्य राष्ट्रप्रमुखको सवारीका लागि आवश्यक बुलेट प्रुफ गाडी नभएपछि कतारसँग गाडी खरिद गर्ने कुरा अघि बढाइए पनि पछि खरिद भने गरिएन ।
त्यतिबेला भारतबाट केही दिनका लागि मर्सिडिज बेन्ज ल्याई काम चलाइएको भए पनि पछि कतारले उपहारस्वरुप ९ वटा गाडी नेपाललाई दिएको थियो । सन् २०१७ मा काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनमा ती ९ वटा मर्सिडिज बेन्ज प्रयोगमा ल्याइने त्यतिबेला बताइएको थियो । तर गाडी उपहारस्वरुप पाएको केही महिना नबित्दै नौमध्ये दुइटा मर्सिडिज बेन्ज परराष्ट्रमन्त्री महत र एउटा गृहमन्त्री विमलेन्द्र निधिलाई प्रयोग गर्न दिइएको हो ।
यस्तै, मन्त्री महतले निवासको प्रयोजनमा चलाउँदै आएको स्कारपियो गाडी त्यसअघि राहदानी विभागमा थियो । गत कात्तिकमा राहदानी विभागबाट उक्त गाडी मन्त्रालय लगिएको हो । स्रोतका अनुसार विभाग मातहत हुँदा उक्त स्कारपियो गाडीको नम्बर बा२झ १५२७ (सेतो प्लेट) थियो । पछि उक्त गाडीको नम्बर प्लेट परिवर्तन गरियो । अहिले उक्त गाडीको नम्बर बा१३च ४३७० (रातो प्लेट) छ । ‘स्कारपियो गाडी अधिकांश समय मन्त्रीज्यूको निवासतिरै हुन्छ । कहिले सेतो प्लेट त कहिले रातो प्लेटमा यो गाडी कुद्छ,’ स्रोतले भन्यो ।
बा१झ ५४५४ नम्बरको अर्को निसान गाडी पनि मन्त्रीको निर्देशनमा त्रिशूली पठाइएको छ । त्यो गाडी त्रिशूलीमा कसले प्रयोग गरिरहेको छ परराष्ट्रलाई नै पत्तो छैन । मन्त्रीका तीनजना सल्लाहकार तथा पिएलाई पनि छुट्टाछुट्टै गाडी उपलब्ध गराइएको छ । मन्त्रीका सल्लाहकार तथा पिएलाई बा१झ ५३५४, बा२झ ५४७४ र बा२झ ५४७२ नम्बरको निसान गाडी उपलब्ध गराइएको छ । नागरिक न्युजले लेखेको छ