काठमाडौं, २८ असर २०८३।
कीर्तिपुर होल्डिङ सेन्टरमा पुगेका प्रहरीले कुटपिट गर्दै पक्राउ गरेको भनिएका जेनजी अभियन्ता माजिद अनसारी अस्पताल भर्ना भएका छन् भने उनीसंगै पक्राउ परेका अन्य दुई जना भने छुटेका छन्।
काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीका कारण प्रभावित सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका बेला प्रहरीले लछारपछार गर्दै पक्राउ गरेका जेन जी आन्दोलनका अभियन्ता माजिद अनसारी उपचारका लागि भन्दै महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका हुन्। उनीसंगै पक्राउ परका भनिएका भुमी आयोगका पूर्व उपाध्यक्ष एबम नेकपाका नेता नहेंद्र खड्का ‘उत्तम’ र सरिश्मा थापालाई प्रहरीले हिरासतमुक्त गरेको छ।
मेडिकल रिपोर्टमा विभिन्न चोट देखिएको दाबी
कीर्तिपुर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणअनुसार माजिदको नाकको टुप्पोमा चोट लागेको, एक दाँत हल्लिएको तथा दुवै आँखाको वरिपरि, देब्रे कन्चट र बंगराको जोर्नीमा चोट देखिएको जनाइएको छ। मेडिकल रिपोर्टमा उनको छाती र पिठ्युँका विभिन्न भागमा ‘सफ्ट टिस्यु इन्जुरी’ रहेको तथा आँखा धमिलो देखिने समस्या पनि उल्लेख गरिएको छ।
पक्राउको भिडियो सार्वजनिक
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रहरीले अभियानीहरूलाई लछारपछार गर्दै गाडीमा चढाएको र नियन्त्रणका क्रममा अश्लील शब्द प्रयोग गरेको सुनिन्छ। भिडियोमा माजिद अन्सारीको अनुहारमा रगत देखिएको छ।
गाडीमा राखिएपछि माजिदले आफूलाई पक्राउ पुर्जी दिन माग गरेको भिडियोमा देखिन्छ। त्यसक्रममा एक प्रहरी कर्मचारीले “के को पक्राउ पुर्जी?” भन्दै जवाफ दिएको पनि भिडियोमा सुनिन्छ।
प्रहरीको स्पष्टीकरण
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले भने होल्डिङ सेन्टरमा बाढी प्रभावित आश्रितहरूलाई अन्यत्र सार्ने काम भइरहेका बेला जेनजी अभियानीहरू पुगेपछि होहल्ला भएको र त्यसपछि नियन्त्रणमा लिनुपरेको बताएका छन्।
उनका अनुसार बाढीपछि आश्रितहरूको स्थानान्तरण भइरहेको अवस्थामा अवरोध सिर्जना भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जेनजीको आरोप र छानबिनको माग
जेनजी अभियानी अमित ऊर्जाले आफूहरू सुकुम्बासीहरूको अवस्था बुझ्न मात्र गएको दाबी गर्दै प्रहरीले माजिद अन्सारीमाथि अनावश्यक बल प्रयोग गरेको बताएका छन्।
यस घटनापछि जेनजी मुभमेन्ट अलायन्सले विज्ञप्ति जारी गर्दै पक्राउ र कुटपिटको घटनाको स्वतन्त्र, निष्पक्ष र तत्काल छानबिन गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
यसैबीच, सरकारले नदी किनारका बस्ती हटाएपछि कीर्तिपुरसहित विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरू बाढीका कारण पुनः समस्यामा परेका छन्।Instant