पोखरा बसपार्कका दुईसय ३३ जना सुकुम्बासीको अन्यत्र पनि भेटियो जग्गा : वैकल्पिक बसोबासपछि मात्र बस्ती हटाइने

पोखरा बसपार्कका दुईसय ३३ जना सुकुम्बासीको अन्यत्र पनि भेटियो जग्गा : वैकल्पिक बसोबासपछि मात्र बस्ती हटाइने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ असार २०८३
  • 1.6K
    Shares

पोखरा , २८ असर २०८३।

पोखराको पृथ्वीचोकस्थित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका पांच सय ७२ सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमध्ये दुईसय ३३ जनाको अन्यत्र पनि जग्गा रहेको भेटिएको छ।

महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीको संयोजकत्वमा गठित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले महानगरमा पेश गरेको कागजपत्र अध्ययन समितिले त्यस्तो तथ्य पत्तो लगाएको हो।

समितिले तयार गरेको छसय २७ पृष्ठ लामो उक्त प्रतिवेदन महानगरका प्रमुख धनराज आचार्यलाई बिहीबार बुझाएको छ। महान्गररको सुचना अधिकारी समेत रहेका संयोजक तिवारीले प्रतिवेदन बुझाइसकिएको भए पनि यसको विस्तृत विवरण कार्यपालिका बैठकपछि सार्वजनिक गरिने जानकारी दिए।

स्रोतका अनुसार यो संख्या अन्तिम नभई अध्ययनका क्रममा केही तलमाथि हुन सक्छ। जनआन्दोलनका बेला केही अभिलेख नष्ट भएकाले अन्यत्र पनि जग्गा भएका व्यक्तिको विवरण छुटेको हुन सक्ने आकलन गरिएको छ। त्यसैले महानगरले प्रतिवेदन सार्वजनिक गरेपछि उजुरी तथा दाबी–विरोधका लागि सात दिने सूचना जारी गर्ने तयारी गरेको छ।

प्रतिवेदन बुझ्दै महानगर प्रमुख धनराज आचार्यले यसलाई महत्वपूर्ण दस्ताबेजका रूपमा ग्रहण गरिएको बताए। आवश्यक अध्ययन र विश्लेषणपछि उपयुक्त समयमा सार्वजनिक गरिने उनले जानकारी दिए।

उनले आधुनिक बसपार्क निर्माणलाई पारदर्शी, व्यवस्थित र कानुनी प्रक्रियाअनुसार अघि बढाइने तथा वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले वास्तविक सुकुम्बासीको व्यवस्थापनका लागि काम भइरहेको बताए। उनका अनुसार महानगर र स्थानीय दुवै पक्षलाई मर्का नपर्ने गरी समाधान खोज्ने प्रयास भइरहेको छ।

महानगरले पृथ्वी राजमार्गसँग जोडिएको उत्तरी क्षेत्र तथा सुकुम्बासी बस्तीको पश्चिमतर्फको केही भागमा संरचना हटाए पनि मुख्य बस्ती भने यथावत् राखेको छ। वैकल्पिक बसोबासको व्यवस्था भएपछि मात्रै बस्ती हटाइने महानगरको योजना छ।

यसअघि महानगरले बस्ती खाली गर्न पटक–पटक सूचना जारी गरे पनि वैकल्पिक व्यवस्थाबिना नहट्ने सुकुम्बासीको अडानपछि डोजर चलाउने निर्णय स्थगित गरेको थियो।

हालसम्म बसपार्क क्षेत्रमा ५२० वटा संरचना हटाइएको महानगरले जनाएको छ। तीमध्ये बास्तोला कम्प्लेक्सका ३२० र अन्य २०० वटा सटर तथा टहरा समेटिएका छन्।

आधुनिक बसपार्क निर्माणलाई अघि बढाउन महानगरले तीनवटा समिति गठन गरी समानान्तर रूपमा काम गरिरहेको छ।

सुकुम्बासी व्यवस्थापनसँगै बसपार्क निर्माणका लागि करिब पाँच दशकअघि अधिग्रहण गरिएको जग्गासम्बन्धी विवाद समाधान गर्न पूर्व न्यायाधीश शंकरराज बरालको संयोजकत्वमा तीन सदस्यीय न्यायिक अध्ययन समिति पनि सक्रिय छ।

बरालले समितिको अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिँदै अधिग्रहण, सट्टापट्टा, बिक्री वितरण तथा क्षतिपूर्तिसम्बन्धी विषयको तथ्यगत अध्ययन भइरहेको बताए।

यस्तै, सुकुम्बासीको पुनःस्थापनाका लागि उपयुक्त जग्गा खोज्न पोखरा–१७ की वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा गठित समितिले ६ वटा सम्भावित स्थान पहिचान गरिसकेको छ। ती स्थानको उपयुक्तता तथा स्वामित्वबारे थप अध्ययन भइरहेको उनले जानकारी दिइन्।

भूमिहीन, अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिले पनि उचित पुनःस्थापनाको व्यवस्था भए बसपार्क निर्माणमा अवरोध नगर्ने जनाएको छ।

समितिका संयोजक प्रेमबहादुर गुरुङका अनुसार महानगरले व्यवस्थित र पायक पर्ने स्थानमा बसोबासको व्यवस्था गरे बसपार्क क्षेत्र खाली गर्न आफूहरू तयार छन्।

उनका अनुसार बसपार्क क्षेत्रसँगै सेती नदी किनारका शिव टोल, गणतान्त्रिक टोल, कृष्ण टोल र पार्वती टोल लगायत करिब २०५ रोपनी क्षेत्रफलमा सुकुम्बासी बस्ती फैलिएको छ।

प्रतिक्रिया