पोखरा , २७ असर २०८३।
सरकार पक्षको दबाब खप्न नसकेर ‘आत्मदाह’ गरेका गणेश नेपालीका बुबाले पनि आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको छ। आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीका बुबाले शनिबार आत्महत्याको प्रयास सार्वजनिक भएको हो।
परिवारका अनुसार सरकार पक्षले गणेशको शव बुझ्न दबाब दिएको भन्दै भावुक बनेका उनले आफ्नै घाँटी थिचेर आत्महत्या गर्ने प्रयास गरेका थिए। घटनास्थलमा रहेका आफन्तले तत्काल हस्तक्षेप गरेपछि उनलाई रोक्न सफल भएका थिए।
गणेशको निधनपछि परिवार र सरकार पक्षबीच शव बुझ्ने, क्षतिपूर्ति तथा अन्य मागका विषयमा शुक्रबारदेखि पटक–पटक वार्ता भए पनि शनिबारसम्म कुनै सहमति हुन सकेको छैन।
जेनजी अभियन्ता सुप्रिया शाहीका अनुसार हाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा गणेशका बुबा, आमा, दाजुसहित परिवारका सदस्य र सरकारका प्रतिनिधिबीच छलफल जारी छ।
उनले भनिन्, “गणेशको परिवारलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयभित्र वार्ताका लागि लगिएको छ। अहिले अन्य व्यक्तिलाई भित्र प्रवेश गर्न दिइएको छैन। वार्ताबाट सहमति हुन्छ वा हुँदैन भन्नेबारे केहीबेरमा जानकारी आउनेछ।”
यसअघि शुक्रबार राति गणेश नेपालीको शव महाराजगञ्जस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा राखिएको थियो। परिवार र सरकारबीच सहमति नजुटेकाले शव हालसम्म आफन्तले बुझिसकेका छैनन्।
गणेश नेपाली काठमाडौंमा पठाओ चालकका रूपमा काम गर्दै आएका थिए। बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाका नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि उनी आक्रोशित बनेका थिए। त्यसपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
गम्भीर अवस्थामा उद्धार गरिएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान करिब ११:१९ बजे उनको निधन भएको अस्पतालले जनाएको थियो।
गणेशको मृत्युपछि घटनालाई लिएर सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा व्यापक बहस भइरहेको छ भने घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउनुपर्ने मागसमेत उठिरहेको छ।