बझाङमा बोलेरो दुर्घटना : कम्तीमा तीन जनाको घटनास्थलमै मृत्यु

बझाङमा बोलेरो दुर्घटना : कम्तीमा तीन जनाको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ असार २०८३
  • 2.2K
    Shares

bajhang jeep accident , बझाङमा जिप दुर्घटना

पोखरा , २७ असार २०८३।

बझाङमा आज दिउँसो बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा कम्तीमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

केदारस्युँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका-६ चुवापनतर्फ गइरहेको सेच ००१२६४४ नम्बरको जिप आज दिउसो बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

१५ देखि १६ जना सवार रहेको उल्लेखित बोलेरो जिप दुर्घटनामा हताहतीको संख्या अझ बढ्न सक्ने केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिए। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले मृतक, घाइते तथा यात्रुको यकिन विवरण अझै प्राप्त हुन नसकेको उनले बताए।

गाउँपालिका अध्यक्ष बोहराका अनुसार जिप सडकबाट करिब ३०० मिटर तल भीरमा खसेको थियो। दुर्घटनापछि स्थानीयवासी तत्काल उद्धारमा खटिएका छन् भने गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिए। दुर्गम भूगोलका कारण घटनास्थलबाट विस्तृत विवरण आउन केही समय लाग्ने उनले बताए।

प्रहरीले घटनास्थलबाट थप विवरण संकलन गरिरहेको जनाएको छ। मृतकको पहिचान, दुर्घटनाको कारण तथा क्षतिको यकिन विवरण प्राप्त भएपछि थप जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया