तीन दिनमा तेस्रो आत्मदाह प्रयास : काठमाडौंका व्यवसायी राउतको अवस्था गम्भीर

तीन दिनमा तेस्रो आत्मदाह प्रयास : काठमाडौंका व्यवसायी राउतको अवस्था गम्भीर


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ असार २०८३
  • 1.9K
    Shares

aswin raut , ब्यबसायी आश्विन राउत

पोखरा , २७ असर २०८३।

काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्।

शनिबार बिहान काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले पेट्रोल छर्केर आगो लगाएका थिए। आगलागीबाट गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो।

वीर अस्पतालको बर्न आईसीयूमा उनको उपचार भइरहेको छ। उपचारमा संलग्न डा. पीयुष दाहालका अनुसार राउतको शरीरमा ६० प्रतिशतसम्म जलन भएको छ र उनको अवस्था गम्भीर छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवादका कारण उनले यस्तो कदम चालेको हुन सक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटनाको समयमा राउतकी श्रीमती र छोरा घरमा थिएनन्। उनले अघिल्लो दिन छोरासँग केही विषयमा छलफल भएको जानकारी प्रहरीले पाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, पछिल्ला तीन दिनमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने घटना लगातार तेस्रो पटक दोहोरिएको छ। बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा आगो लगाएका थिए। उपचारका क्रममा उनको शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।

यस्तै, शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था पनि गम्भीर छ।

प्रतिक्रिया