बालमन्दिरको करोडौंको जग्गा घोटाला प्रकरण : पूर्वपदाधिकारीसहित तीन जना पक्राउ

बालमन्दिरको करोडौंको जग्गा घोटाला प्रकरण : पूर्वपदाधिकारीसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ असार २०८३
  • 855
    Shares

baal mandir jaggaa : बाल मन्दिर जग्गा प्रकरण

काठमाडौं, २६ असार २०८३।

नेपाल बाल संगठन (बालमन्दिर)को करोडौं रुपैयाँ मूल्य बराबरको सरकारी जग्गा तथा संस्थागत सम्पत्ति दुरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठनका तीन जना पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा तत्कालीन सदस्यसचिव राजेन्द्रकुमार श्रेष्ठ (५१), सदस्य ओमकृष्ण श्रेष्ठ (६२) र आशा श्रेष्ठ (५४) रहेका छन्। उनीहरूलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले बाल संगठनको स्वामित्वमा रहेको उच्च मूल्यको जग्गा अत्यन्तै न्यून भाडादरमा निजी व्यावसायिक समूहलाई उपलब्ध गराई सरकार तथा संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ।

सरकारद्वारा गठित उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनमा उल्लेख भएका तथ्य र प्रमाणका आधारमा सीआईबीको विशेष टोलीले बुधबार राति काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीले पनि उक्त प्रकरणमा लामो समयदेखि अनुसन्धान गरिरहेका थिए।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार बालमन्दिरको अर्को जग्गा भाडा प्रकरणमा समेत छुट्टै जाहेरीका आधारमा केही कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। भाडामा दिने प्रतिबद्धता गरिएको जग्गा उपलब्ध नगराइएको भन्दै पीडितहरूको उजुरीपछि सो विषयमा पनि अनुसन्धान अघि बढाइएको उनले बताए।

प्रहरी स्रोतका अनुसार यस प्रकरणमा अन्य उच्चपदस्थ व्यक्ति तथा बिचौलियाको समेत संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान जारी छ। पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने सीआईबीले जनाएको छ।

प्रतिक्रिया