पोखरा, २३ असार २०८३।
जिल्ला अदालत पांचथरले पाँचथरका युत्युबर रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
तात्कालिन अवस्थामा काठमाण्डौ महानगरपालिकाको मेयर रहेका वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक संजालमा अपमानजनक तरीकाले सामाजिक सञ्जालमा बिरोध गरेको आरोप लागेका पोखरेललाई जिल्ला न्यायाधिश कुमार मास्केको एकल इजलाशले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
पोखरेलबिरुद्ध जिल्ला अदालतमा युट्युब तथा सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र अन्य नेताहरूप्रति अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लगाउदै विद्युतीय कारोबार सम्बन्धि ऐन अन्तरगत मुद्दा चलाइएको थियो। सोही मुद्दाको सुनुवाइपछि जिल्ला अदालत पाँचथरले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको र सोही आदेश बमोजिम उनलाई कारागार पठाउने प्रक्रिया अघि बढाइएको अदालतका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिए।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७, डोबाटेका पोखरेललाई प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका कारण पक्राउ परेको विषय सार्वजनिक भएपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए। त्यसपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो। यद्यपि, सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
अभियोगपत्रमा मेयर बालेन्द्र (बालेन) शाह तथा उहाँको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने उद्देश्यले अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरी भिडियो, स्टाटस तथा अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ।
उक्त आरोपको अन्तिम सत्यता भने अदालतको अन्तिम फैसला आएपछि मात्रै कानुनी रूपमा टुंगो लाग्नेछ।