सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना : प्रहरी निरीक्षकसहित दुई जना पक्राउ

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना : प्रहरी निरीक्षकसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, २१ असार २०८३
  • 1.2K
    Shares

काठमाडौं, २१ असार २०८३ .

सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गर्दै आएको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा एक प्रहरी निरीक्षकसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विद्यालयकी लेखा अधिकृतको जिम्मेवारीसमेत सम्हाल्दै आएकी सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र उनका साथी लीला लामा रहेका छन्। उनीहरूलाई शनिबार नेपाल प्रहरीले पक्राउ गरेको हो।

घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बलले डिआइजी युवराज अर्यालको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो। समितिले गरेको अनुसन्धानमा प्रहरी निरीक्षक गुरुङले गैरकानुनी रूपमा विद्यालयको रकम अपचलन गरेको निष्कर्ष निकालेको बताइएको छ।

छानबिन प्रतिवेदनका आधारमा सशस्त्र प्रहरीले कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेपछि दुवै जनालाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार गुरुङले विद्यालयको रकम आफ्ना साथी लीला लामाको बैंक खातामा स्थानान्तरण गरी हिनामिना गरेको आरोप लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यद्यपि, एक जना लेखा अधिकृतले मात्र यति ठूलो रकम हिनामिना गर्न सम्भव भएको विषयमा प्रश्न उठ्न थालेको छ। अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा सशस्त्र प्रहरीका अन्य उच्च अधिकारीहरूको संलग्नतासमेत परीक्षण हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, यस विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भने भएको छैन।

प्रतिक्रिया