एकाबिहानै डोल्पामा बाढीको कहर : एक महिलाको मृत्यु, ६ जना घाइते

एकाबिहानै डोल्पामा बाढीको कहर : एक महिलाको मृत्यु, ६ जना घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, २१ असार २०८३
  • 779
    Shares

डोल्पा, २१ असार २०८३

डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति आएको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

अविरल वर्षासंगै आइतबार बिहान करिब ३ बजे आएको हिलो माटोसहितको पहिरो गैरीगाउँमा पस्दा बगाएकी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको हो। बाढीले बगाउँदा गम्भीर घाइते भएकी विकलाई उद्धार गरेर उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, बाढीमा परी सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक घाइते भएका छन्। उनीहरुको घाइतेहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ।

स्थानीयवासीका अनुसार बाढीले केही व्यक्तिलाई करिब १५ देखि १६ मिटर टाढासम्म बगाएको थियो। त्यसका कारण उनीहरूको ढाड, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

घटनालगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो।

यसैबीच, प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना प्रहरी, नेपाली सेनाका १० जना र सशस्त्र प्रहरी बलका ११ जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको छ।

प्रहरीले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्नुका साथै थप उद्धार तथा राहत वितरणको कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया