काठमाडौं, २१ असार २०८३
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको जनाएको छ।
नयाँ सरकार गठन भएको सय दिन पुगेको अवसरमा शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कार्यदलका संयोजक तथा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कार्यदलको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनका अनुसार संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको छ र असार मसान्तभित्र प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गर्ने कार्यतालिका तय गरिएको छ।
शाहले कार्यदलले संविधानविद्, सरोकारवाला निकाय तथा विभिन्न राजनीतिक दलसँग व्यापक छलफल गरिसकेको र आवश्यक सुझाव संकलन गर्ने काम लगभग सम्पन्न भएको बताए।
‘हामीले संविधानविद्, सरोकारवाला निकाय र विभिन्न राजनीतिक दलसँग छलफल गरेका छौँ। अब प्रतिवेदन लेखनको चरणमा पुगेका छौँ,’ उनले भने।
उनले प्रतिवेदन अन्तिम रूप दिएपछि त्यसबारे थप जानकारी सार्वजनिक गरिने पनि बताए।
कार्यदलले प्राप्त सुझावका आधारमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरिरहेको जनाएको छ।