म्याग्दी, २१ असार २०८३
म्याग्दी जिल्लाका दुई स्थानमा शनिबार पहिरो खस्दा प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
गएराती परेको वार्शासंगे आएको पहिरोले म्याग्दीको घुमाउने भिरमा बेनी–दरवाङ भित्री सडक र बैसेरी क्षेत्रमा बेनी–जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी नगरपालिका–४ स्थित घुमाउने भिरमा माथिबाट ढुंगा र माटोसहितको पहिरो खस्दा बेनी–दरवाङ भित्री सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।
त्यसैगरी, रघुगंगा गाउँपालिका–२ बैसेरी क्षेत्रमा लेदो र माटोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडक खण्ड समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि दुवै स्थानमा प्रहरी टोली खटिएको छ। सम्बन्धित निकायसँगको समन्वयमा पहिरो पन्छाई यातायात सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। मौसम प्रतिकूल रहेकाले आवश्यक सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेको छ।