चितवन, २१ असार २०८३।
जङ्गली हात्ती ‘ध्रुवे’ले आक्रमण गरेर चितवनमा आमाछोराको ज्यान लिएको छ।
चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जङ्गली हात्ती ‘ध्रुवे’ले शनिबार राति घरमै पसेर भरतपुर महानगरपालिका–२३, बेलहट्टा, जगतपुरकी २३ वर्षीया आशिका बोटे र उनको ४ वर्षीय छोराको ज्यान गएको हो।
भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष दीपक दवाडीका अनुसार घटनापछि आक्रोशित स्थानीयले मृतक आमा–छोराको शव चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा प्रवेश गर्ने राप्ती खोलामाथिको पुलमा राखेर धर्ना दिएका छन्। जङ्गली हात्तीलाई नियन्त्रणमा नलिएसम्म शव नउठाइने उनीहरूको अडान रहेको छ।
स्थानीयवासीका अनुसार ‘ध्रुवे’ नामले चिनिने उक्त जङ्गली हात्ती लामो समयदेखि गाउँमा पसेर जनधनको क्षति पुर्याउँदै आएको थियो। हात्ती नियन्त्रणका लागि निकुञ्ज प्रशासनसँग पटक–पटक आग्रह गरिए पनि प्रभावकारी कदम नचालिएको आरोप उनीहरूको छ।
घटनापछि क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीयले निकुञ्ज प्रशासनसँग तत्काल हात्ती नियन्त्रणमा लिन, प्रभावित परिवारलाई उचित राहत उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्न माग गरेका छन्।