पोखरा, २० असार २०८३ ।
नेपालगन्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक २० वर्षपछि पुनःस्थापना गरिएको छ। दोस्रो जनआन्दोलन (२०६२–६३) का क्रममा तोडफोड गरी हटाइएको शालिक शनिबार राति करिब २ बजे पुनःस्थापना गरिएको हो।
राजा वीरेन्द्रको शालिक पुनःस्थापनाको माग गर्दै राजावादी पक्षले लामो समयदेखि आवाज उठाउँदै आएको थियो। यसअघि पनि शालिक पुनःस्थापना गर्ने प्रयास भए तापनि विभिन्न कारणले सफल हुन सकेको थिएन।
नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ऐतिहासिक व्यक्तित्वका शालिकहरू पुनःस्थापना गर्ने अभियानअन्तर्गत राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको जनाएको छ।
शालिक स्थापना कार्यक्रममा राजसंस्थाप्रति आस्था राख्ने विभिन्न राजनीतिक दलका नेता तथा समर्थकहरूको उपस्थिति रहेको थियो। लामो समयदेखि शालिक पुनःस्थापनाको पहल गर्दै आएका ऋषिराज देवकोटा ले २० वर्षपछि राजा वीरेन्द्रको शालिक पुनःस्थापना हुनु खुसीको विषय भएको प्रतिक्रिया दिएका छन्।
उपमहानगरपालिकाका अनुसार यसअघि आन्दोलनका क्रममा क्षतिग्रस्त भएका बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह तथा सेतु विक का शालिकसमेत पुनःस्थापना गरिसकिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट ले ऐतिहासिक महत्व बोकेका तथा आन्दोलनका क्रममा क्षतिग्रस्त भएका शालिकहरू क्रमिक रूपमा पुनःस्थापना गर्ने अभियान जारी रहने बताएका छन्। साथै, यसअघि पुनःस्थापना गरिएको तत्कालीन राजा राजा त्रिभुवन को अर्धकदको शालिकको स्थानमा पूर्ण आकारको नयाँ शालिक राख्नुपर्ने मागसमेत उठिरहेको उनले उल्लेख गरेका छन्।