भारतमा कारको ठक्करबाट दुई नेपाली युवकको मृत्यु

भारतमा कारको ठक्करबाट दुई नेपाली युवकको मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, २० असार २०८३
  • 1K
    Shares

indian car hiting bike

पोखरा, २० असार २०८३ ।

भारतको उत्तराखण्ड राज्यस्थित उधमसिंह नगर जिल्लाको नानकमत्ता क्षेत्रअन्तर्गत बिडोरा–मझोला सडकमा भएको सवारी दुर्घटनामा दुई नेपाली युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का राहुल चदारो र वडा नं. ९ का कमल खड्का रहेका छन्। भारतको राजधानी दिल्लीबाट घर फर्किरहेका बेला शुक्रबारउनीहरू सवार मोटरसाइकललाई तीव्र गतिमा आएको कारले ठक्कर दिएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्राप्त संचारमा जनाइएको छ।

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि सितारगन्जस्थित सामुदायिक स्वास्थ्य केन्द्र लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

हाल दुवैको शव सोही अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। मृतकका आफन्त शनिबार शव बुझ्न भारत गएका छन्। पोस्टमार्टम प्रक्रिया पूरा भएपछि आजै शव नेपाल ल्याइने दोधारा चाँदनी नगरपालिका–८ का अध्यक्ष ओमप्रकाश रोकायाले जानकारी दिए।

दोधारा चाँदनी नगरपालिका–९ का अध्यक्ष गोपीलाल कँडेलका अनुसार दुर्घटनाको खबर पाएलगत्तै आफन्त र स्थानीय जनप्रतिनिधि घटनास्थल पुगेका थिए। उनका अनुसार दुर्घटनामा संलग्न कार चालक फरार रहेका छन् र उनीविरुद्ध भारतीय प्रहरीमा एफआईआर दर्ता गर्ने तयारी भइरहेको छ।

दुर्घटना भएको क्षेत्र कञ्चनपुरको दोधारा चाँदनीसँग सीमावर्ती भएकाले स्थानीय जनप्रतिनिधि र मृतकका आफन्तले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव स्वदेश ल्याउने तयारी गरेका छन्।

प्रतिक्रिया