पोखरा, १९ असार २०८३ .
अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ समाजसेवी हेम थापा र मायाँ थापाका कान्छा छोराको अमेरिकी सेनामा ड्युटीका क्रममा भएको दुर्घटनामा निधन भएको छ।
मृतकका बुवा हेम थापाका अनुसार केही समयअघि मात्र उनका छोराको पदोन्नति (प्रोमोशन) भएको थियो। पदोन्नतिपछि उनले बिदा लिएर अमेरिकामै परिवारसँग केही समय बिताएका थिए। बिदा सकिएपछि उनी पुनः आफ्नो नियमित सैन्य ड्युटीमा फर्किएका थिए।
हेम थापाले जनसञ्चारसँग गरेको कुराकानीमा, ड्युटीका क्रममा हतियार सञ्चालन गर्ने क्रममा भएको दुर्घटनामा आफ्नै कन्चटमा गोली लाग्दा घटनास्थलमै छोराको मृत्यु भएको जानकारी दिए। घटनापछि सम्बन्धित अमेरिकी निकायले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको उनले बताए।
उनका अनुसार अमेरिकी कानुनअनुसार आवश्यक सबै प्रक्रिया पूरा नभएसम्म परिवारले शव प्राप्त गर्न सकेको छैन। कानुनी प्रक्रिया सम्पन्न भएपछि मात्र शव परिवारलाई हस्तान्तरण गरिनेछ।
यसअघि घटनाको विस्तृत विवरण सार्वजनिक नभएपछि हेम थापाले फेसबुकमा अत्यन्त भावुक दुईवटा स्टाटस लेखेका थिए। पहिलो स्टाटसमा उनले “जीवनको सबैभन्दा दुःखद घडी…” लेखेका थिए।
दोस्रो स्टाटसमा उनले लेखेका थिए:
“मेरो जीवनमा नसोचेको भयो… मेरो र मेरा परिवारको खुसी शत्रुले मात्र होइन, भगवानले समेत देख्न सकेनन्…! कति मार्नुछ मार भगवान… जिउँदो लास भएर बाँचेकै हो… अझै बाँचुला… सहुला…!”
घटनाको कारणबारे सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहेका बेला हेम थापाले आज जनसञ्चारसँग करिब २ मिनेट २८ सेकेन्ड कुराकानी गर्दै छोराको मृत्यु ड्युटीका क्रममा भएको दुर्घटनाका कारण भएको पुष्टि गरेका हुन्।
यस घटनाले थापा परिवार शोकमा डुबेको छ। दुःखद खबर सार्वजनिक भएपछि देश–विदेशबाट समवेदना व्यक्त गर्नेहरूको फोन र सन्देशको ओइरो लागेको भए पनि गहिरो पीडाका कारण परिवारले धेरैलाई प्रतिक्रिया दिन नसकेको जनाइएको छ।
जनसञ्चार दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त हेम थापा, मायाँ थापा तथा सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ।