पोखरा , १९ असार २०८३।
काठमाडौँको भद्रकालीस्थित सैनिक मुख्यालय आसपास ब्यापक मात्रामा विस्फोटक पदार्थको आवाज सुनिएपछि अधिक मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन्।
प्रत्यक्षदर्शीका अनुसार राति करिब १०:१५ बजेदेखि दर्जनौँ पटक ठूलो आवाजसँगै आकाशमा झिल्का देखिएको थियो। घटनापछि उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले प्रारम्भिक जानकारीअनुसार ठूलो आवाज आउने पटका पड्काइएको हुन सक्ने बताए। घटनाबारे थप यकिन गर्न प्रहरी टोलीले क्षेत्रमा खोजतलास गरिरहेको उनले जानकारी दिए।
‘ठूलो आवाज आउने पटका पड्काइएको भन्ने प्रारम्भिक सूचना आएको छ। झिल्का देखिएको भन्ने जानकारी पनि प्राप्त भएको छ। घटनाको यथार्थ बुझ्न प्रहरी टोली परिचालन गरिएको छ,’ एसपी भट्टराईले भने।
यता, सैनिक मुख्यालयले पनि घटनाबारे जानकारी संकलन तथा आवश्यक बुझाइ भइरहेको जनाएको छ।
घटनाको वास्तविक कारण भने समाचार तयार पार्दासम्म खुल्न सकेको छैन। प्रहरी र सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेका छन्।
समाचार स्रोत नेपालखबर