पोखरा , १९ असार २०८३।
नेपाल प्रहरीका आठै जना एआइजीको जिम्मेवारी हेरफेर भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सबैको जिम्मेवारी हेरफेर गर्ने निर्णय बमोजिम उनीहरुको सरुवा भएको हो ।
सरुवासूचीअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा उमाप्रसाद चतुर्वेदीलाई खटाइएको छ । उनी कार्य विभागमा कार्यरत थिए । ब्यूरोमा कार्यरत एआइजी डा.मनोज कुमार केसीको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।
अपराध अनुसन्धान विभागका कार्यरत एआइजी सुशीलसिंह राठौरलाई उपत्यका प्रहरी कार्यालयमा जिम्मेवारी दिइएको छ । उपत्यका प्रहरीमा कार्यरत रहेका ईश्वर कार्कीको मानवस्रोत विकास विभागमा जिम्मेवारी पाएका छन्।
प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा राजन अधिकारीलाई खटाइएको छ भने त्यहाँ कार्यरत सिद्धिबिक्रम शाहको प्रदेश समन्वय विभागमा सरुवा भएको छ । प्रशासन विभागको जिम्मेवारी डम्बर विकले पाएका छन् । प्रशासन विभागका हिमालय श्रेष्ठको कार्य विभागमा सरुवा भएको छ । अवधि पुगेकाले एआइजीको जिम्मेवारी हेरफेर गरिएको बताइएको छ ।