पोखरा , १९ असार २०८३।
पत्रकार खेम भण्डारी कन्चनपुर जिल्ला कारागार चलान भएका छन्।
गालीबेइज्जती सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई कैद भुक्तान गर्न देखिएपछि उनी कन्चनपुर जिल्ला अदालतको आदेश बमोजिम कन्चनपुर जिल्ला कारागार चलान भएका हुन्।
पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि अदालतको आदेश बमोजिम कारागार चलान गरिएको कन्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावलले जानकारी दिए।
उनलाई उच्च अदालत दिपायलले २०८२ चैत २२ गते एक महिना सात दिनको कैद सुनाएको थियो। त्यसअघि २०८२ जेठ १ गते जिल्ला अदालत बन्चनपुरले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एकलाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।
यसमा चित्त नबुझाइ वादी उच्च अदालत गएका थिए। उच्च अदालतले जिल्लाको फैसलामा सात दिन कैद थप, २ हजार १०० जरिवाना थप र क्षतिपूर्ति जिल्लाकै एकलाख सदर गरेको थियो।
सोही फैसला कार्यान्वयनका लागि उनलाई बिहीबार बिहान भीमदत्त नगरपालिका १८ पुष्पलालचोकबाट पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो।