पोखराबाट स्नुकर हाउस संचालक दाजुभाइसहित छ जना अबैध लागू औषध ब्राउन सुगर कारोबार संलग्न रहेको आरोपमा पक्राउ

पोखराबाट स्नुकर हाउस संचालक दाजुभाइसहित छ जना अबैध लागू औषध ब्राउन सुगर कारोबार संलग्न रहेको आरोपमा पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १९ असार २०८३
  • 1.6K
    Shares

brown suger ,drugs in pokhara

पोखरा , १९ असार २०८३।

तीन दिनभित्रमा पोखराबाट अबैध लागू औषध ब्राउन सुगरसहित छ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा १५ मा स्नुकर हाउसका संचालक दाजुभाइ समेतका रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , गत बुधबार राति करिब ८:०५ बजे पोखरा महानगरपालिका–१० उत्तमचोक क्षेत्रबाट अबैध लागुऔषध सहित पोखरा म.न.पा.-१० उत्तम चोक घर भई पोखरा १५ स्थित वडा कार्यालय अगाडि स्नुकर हाउस संचालक बर्ष ३७ को जोन भन्ने गोविन्द थापा र निजकै आफ्नै दाइ बर्ष ३८ को जीवन भन्ने रुम बहादुर थापालाई पकराउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले उनीहरुको घरकोठा खानतलाशी गर्ने क्रममा प्लास्टिकसहित १३ ग्राम ब्राउन सुगर तथा स्रोत नखुलेको ६ लाख ७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले दाबी गरेको छ। दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।

त्यसै दिन साँझ करिब ५ बजे पोखरा–१५ पेन्सन क्याम्प क्षेत्रमा गरिएको अर्को कारबाहीमा पोखरा–१५ लक्ष्मीटोलका २९ वर्षीय सुमन गुरुङ (ज्ञाने) पक्राउ परेका छन्। उनको साथबाट ०.३७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, दुई थान डिजिटल तराजु र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। उनीमाथि अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

यस्तै, असार १८ गते बिहान ४ बजे पोखरा–३२ मजुवास्थित पृथ्वीराजमार्गमा संयुक्त प्रहरी टोलीले वीरगञ्जबाट पोखरा आउँदै गरेको ग २ ख १६९५ नम्बरको सार्वजनिक बसमा चेकजाँच गर्ने क्रममा सिटको झ्यालको पर्दामा लुकाएर ल्याइएको प्लास्टिकसहित ३४ ग्राम (प्लास्टिकबाहेक ३१.०७ ग्राम) ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको छ।

घटनामा स्याङ्जाको आधिखोला गाउँपालिका–२ निवासी ३२ वर्षीय विनोद क्षेत्री र फेदीखोला गाउँपालिका–५ निवासी २६ वर्षीय रेशम क्षेत्री पक्राउ परेका छन्। उनीहरूमाथि पनि जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

त्यसै दिन बिहान ८:१० बजे मजुवा क्षेत्रमा नै काकडभिट्टाबाट पोखरा आउँदै गरेको ग.प्र.००१ ख ००३२ नम्बरको सार्वजनिक बसमा गरिएको चेकजाँचका क्रममा बाँकेको कोहलपुर नगरपालिका–१४ निवासी ३१ वर्षीय सुरज सुनारको सिटमुनि लुकाइ राखिएको १०५ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया