काठमाडौं १८ असार २०८३।
प्रेममा फँसेका ‘नेपाली ब्रो’ले पारिवारिक बिबादका बीच श्रीमती नेपाली सेनाकी जमदार ईश्वरी भुजेलको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ।
झन्डै तीन हप्ता लामो गरिएको अनुसन्धानपछि त्यस्तो निष्कर्षमा पुगेको हो। प्रहरीले गरेको अनुसन्धान पछि तयार पारेको प्रतिबेदन बमोजिम जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले काठमाण्डौ जिल्ला अदालतमा नेपालि ब्रो सहित चार जना बिरुद्ध मुद्दा दायर गरेको छ।
नेपाली सेनाकी जमदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका पति ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगरसहित चार जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो । उक्त अभियोगपत्र पत्रमा मुख्य अभियुक्त कुमारलाई जन्मकैद र अन्य तीन जनालाई दुरुत्साहन (उक्साहट) को कसुरमा सजाय माग दाबी गरिएको छ ।
प्रहरी वृत्त बालाजुले घटनाको अनुसन्धानपछि नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का ३८ वर्षीय कुमार थापा मगर, उनका भाइ विक्रम थापा मगर, जुम्लाकी प्रतीक्षा आचार्य र काठमाडौं बालाजुका पुजन थापा क्षेत्रीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
अनुसन्धानका अनुसार २०८३ जेठ २२ गते राति कुमारले घर फर्किंदै गरेकी पत्नी ईश्वरीमाथि चक्कु प्रहार गरी हत्या गरेका थिए। ईश्वरी नेपाली सेनाको सैनिक ब्यान्ड, नारायणहिटीमा कार्यरत जमदार थिइन्।
सम्बन्धविच्छेदको मुद्दादेखि हत्या योजनासम्म
प्रहरी अनुसन्धानले ईश्वरी र कुमारबीच लामो समयदेखि वैवाहिक विवाद रहेको देखाएको छ। ईश्वरीले सम्बन्धविच्छेदको माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्। यद्यपि अदालतले उक्त मुद्दा मेलमिलापका लागि पठाएको थियो। वैवाहिक बलात्कारसम्बन्धी विवाद पनि मेलमिलाप प्रक्रियामै रहेको अनुसन्धानमा उल्लेख छ।
प्रहरीका अनुसार कुमारको प्रतीक्षा आचार्यसँग रहेको प्रेम सम्बन्ध नै दम्पतीबीचको विवादको मुख्य कारण बनेको थियो। ईश्वरीले यस सम्बन्धको विरोध गर्दै आएकी थिइन् भने कुमारले पटक–पटक मिलापत्रका लागि दबाब दिएका थिए। तर ईश्वरी त्यसमा सहमत नभएपछि हत्या भएको प्रहरीको निष्कर्ष छ।
प्रहरी अनुसन्धानमा खुलेका तथ्य
अनुसन्धानका क्रममा कुमारले आफूले हत्या गर्ने योजना बनाएको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। घटनाको दिन उनी घर पुगे पनि ईश्वरी घर नआइसकेकी थिइन्। त्यसपछि उनी बाटोमै ढुकेर बसेका थिए र घर फर्कने क्रममा ईश्वरीमाथि चक्कु प्रहार गरेका थिए।
प्रहरीका अनुसार प्रतीक्षा घटनास्थलमा उपस्थित नभए पनि उनीसँगको सम्बन्धकै कारण परिवारमा निरन्तर विवाद भएको थियो। पटक–पटक मिलापत्र गराउँदा पनि कुमारले सम्बन्ध नटुटाएको र प्रतीक्षा नुवाकोटस्थित कुमारकै घरमा बस्ने गरेको तथ्य अनुसन्धानमा खुलेको छ।
भाइ र साथीमाथि पनि उक्साहटको आरोप
अभियोगपत्रमा कुमारका भाइ विक्रम थापा मगरले “ईश्वरीलाई तह लगाउन” उक्साएको र त्यसका लागि आवश्यक खर्चसमेत व्यहोर्ने आश्वासन दिएको उल्लेख छ।
त्यसैगरी धनेश्वर अटो मोबाइल्स प्रालिका सञ्चालक पुजन थापा क्षेत्रीले कुमार र प्रतीक्षाबीच भेटघाट गराउने तथा हत्या गर्न मानसिक रूपमा प्रोत्साहन गरेको आरोप लगाइएको छ।
सरकारी वकिलको कार्यालयले मुख्य अभियुक्त कुमारविरुद्ध जन्मकैदको सजाय माग गरेको छ भने अन्य तीन जनाविरुद्ध दुरुत्साहनको कसुरमा कानुनअनुसार मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ।
प्रकरण अहिले काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको छ।