पोखरा महानगरको रु सात अर्ब १५ करोड २५ लाखको बजेट सर्वसम्मतिले पारित

पोखरा महानगरको रु सात अर्ब १५ करोड २५ लाखको बजेट सर्वसम्मतिले पारित


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, १८ असार २०८३
  • 912
    Shares

पोखरा , १८ असार २०८३।

 पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु ७ अर्ब १५ करोड २५ लाखको वार्षिक विकास कार्यक्रम तथा बजेट सर्वसम्मतिले पारित गरेको छ।

नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको बजेट नगरसभाले सर्वसम्मति रुपमा पारित गरेको हो।

पारित बजेटअनुसार सङ्घीय सरकारबाट सशर्त, विशेष, समपूरक तथा समानीकरण अनुदान गरी कुल रु तीन अर्ब १८ करोड ६० लाख प्राप्त हुने जनाइएको छ। त्यसैगरी गण्डकी प्रदेश सरकारबाट समपूरक, विशेष र समानीकरण अनुदानमार्फत रु नौ करोड १५ लाख ३६ हजार प्राप्त हुने व्यवस्था गरिएको छ।

महानगरको आन्तरिक आयतर्फ सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, स्थानीय राजस्व बाँडफाँट र आन्तरिक स्रोतसमेत गरी रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार आम्दानी हुने अनुमान गरिएको छ।

कुल बजेटमध्ये ५५ दशमलव १५ प्रतिशत चालु खर्च र ४४ दशमलव ९५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

नगरसभाले यससँगै आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन तथा कार्यपालिकाबाट सिफारिस भएका विभिन्न विधेयक, संशोधन विधेयक, मापदण्ड र अन्य कानुनहरू पनि पारित गरेको छ।

प्रतिक्रिया