काठमाण्डौमा खुकुरी हानेर भागेका रुकुम पश्चिमका टाइगर बाँकेमा समातिए

काठमाण्डौमा खुकुरी हानेर भागेका रुकुम पश्चिमका टाइगर बाँकेमा समातिए


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, १७ असार २०८३
  • 1.1K
    Shares

पोखरा , १७ असार २०८३।

काठमाडौंको सामाखुसीस्थित आत्मज्ञान मन्दिर नजिक सडकमा एक युवकमाथि खुकुरी हानेर घाइते बनाई भागेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ निवासी ‘टाइगर’ भनिने २५ वर्षीय गोविन्द चन्द बाँकेमा पक्राउ परेका छन्। उनलाई घटना भएको ११ दिनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाँकेबाट पक्राउ गरेको हो ।

उनलाई अनुसन्धानका लागि काठमान्डौ ल्याएर प्रहरी वृत्त महाराजगञ्जको जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।

प्रहरीका अनुसार चन्दले असार ४ गते साँझ काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउन प्लानिङस्थित आत्मज्ञान मन्दिर अगाडिको सडकमा पश्चिम रुकुमको बाफिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौंको छाउनी बस्दै आएका २२ वर्षीय टोपजंग वलीमाथि खुकुरी प्रहार गरेका थिए।

टाउको र पाखुरामा गम्भीर चोट लागेका वलीको हाल ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ।

अनुसन्धानका क्रममा चन्दले मोटरसाइकल किनबेचको विषयमा छलफल गर्ने भन्दै पटक–पटक फोन गरेर वलीलाई भेट्न बोलाएको खुलेको छ। दुवैबीच आत्मज्ञान पछाडिको खाली जग्गामा करिब १० मिनेट कुराकानी भएपछि चन्दले आफूसँग रहेको धारिलो हतियार प्रहार गरी फरार भएका थिए।

प्रहरी अनुसन्धानबाट आक्रमणअघि प्रयोग गरिएको मोबाइल नम्बर पक्राउ परेका चन्दको नाममा नभई सुजल खत्रीको नाममा दर्ता रहेको खुलेको छ। अनुसन्धानका क्रममा सुजल गत मे महिनादेखि मलेसियामा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

उक्त सिम रुकुम पश्चिमस्थित एक मोबाइल पसलबाट खरिद गरिएको र त्यसमा हालसालै गरिएको रिचार्ज टोखास्थित माण्डव्य किराना पसलबाट गरिएको समेत प्रहरीले फेला पारेको छ। सोही पसल र नजिकैको चिया पसलको सीसीटीभी फुटेजमा चन्द देखिएको अनुसन्धानबाट पुष्टि भएको छ।

सीसीटीभी र प्राविधिक अनुसन्धानबाट पहिचान

प्रहरीका अनुसार घटनापूर्व चन्दले टोखाबाट वलीलाई पटक–पटक फोन गरेका थिए। त्यसपछि उनी गणेशस्थान हुँदै गोंगबु पुगेका थिए। भेट्ने स्थान सुनिश्चित गर्न पुनः फोन सम्पर्क गरेपछि वलीसँग भेट गरी केहीबेर कुराकानी गरेका थिए। त्यसलगत्तै खुकुरी प्रहार गरेर उनी गोंगबु–याकुपा मार्ग हुँदै मित्रनगरतर्फ फरार भएका थिए।

घटनापछि उनी ठमेल हुँदै रुकुम पुगेका थिए। त्यहाँ पुगेपछि नयाँ मोबाइल सेट खरिद गरी अर्को सिम प्रयोग गरेको र आफ्नो पहिचान लुकाउन मोबाइल तथा सिम परिवर्तन गर्दै विभिन्न स्थानमा बस्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाका क्रममा लगाएको कपडा यसअघि सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरिएको भिडियोमा समेत देखिएको जनाएको छ।

अनुसन्धान जारी

प्रहरीले चन्दविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

एसएसपी सन्तोष खड्काले सुरुआतमा कुनै स्पष्ट सुराक वा मोटरसाइकल नम्बरसमेत उपलब्ध नभएको अवस्थामा प्राविधिक विश्लेषण, सीसीटीभी फुटेज तथा अन्य प्रमाणको आधारमा अभियुक्तको पहिचान गरी पक्राउ गर्न सफल भएको बताए।

प्रतिक्रिया