रास्वपाले सच्यायो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची

रास्वपाले सच्यायो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, १६ असार २०८३
  • 874
    Shares

पोखरा, १६ असार २०८३।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको नामावली सच्याएको छ।

भुवन केसीको अध्यक्षतामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनको मतपरिणाम तथा उम्मेदवारीसँग सम्बन्धित कागजात पुनः अध्ययनपछि संशोधित सूची सार्वजनिक गरेको हो।

आयोगका अनुसार उम्मेदवारहरूले प्राप्त गरेको मत र क्लस्टर (समूह) मिलाउने क्रममा त्रुटि भएको गुनासो आएपछि विस्तृत समीक्षा गरिएको थियो। सोही समीक्षापछि केन्द्रीय सदस्यहरूको नामावलीमा हेरफेर गरिएको हो।

संशोधित सूचीअनुसार कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाइएको छ। उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई निर्वाचित केन्द्रीय सदस्य घोषणा गरिएको छ।

निर्वाचन आयोगले जारी गरेको निर्णयमा भनिएको छ, ‘महाधिवेशन निर्वाचन कार्यविधि, २०८३’ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएको उल्लेख भए पनि मतपरिणाम तथा उम्मेदवारी दर्ताका क्रममा पेश गरिएका कागजात र प्रमाणको अध्ययनबाट ध्रुवकुमार थापामगर निर्वाचित भएको पुष्टि भएकाले उनलाई निर्वाचित घोषणा गर्ने निर्णय गरिएको हो।

त्यस्तै, प्रादेशिक (भूगोल)तर्फ गण्डकी प्रदेशको मतपरिणाम पुनः परीक्षण गर्दा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा त्रुटिवश सोम शर्माको नाम समावेश भएको पाइएपछि आवश्यक अध्ययन गरी बास्तोलालाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ।

आयोगले संशोधित निर्णयसँगै महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको आधिकारिक सूची अद्यावधिक गरेको छ।

प्रतिक्रिया