पोखरा, १६ असार २०८३।
विगत १८ वर्षदेखि निरन्तर रुपमा सर्वसाधारणलाई नशालु पदार्थ खुवाएर बेहोश बनाई सुन, नगद तथा मोबाइल लुटपाट गर्ने गिरोहका तीन जना काभ्रामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बुद्धकुमार श्रेष्ठ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ निवासी ५३ वर्षीय केदार श्रेष्ठ र दोलखाको बिगु गाउँपालिका–४ निवासी ४६ वर्षीय नवराज घिमिरे (विक) रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार बुद्धकुमार र केदार लुटपाटमा प्रत्यक्ष संलग्न रहेका छन् भने नवराज चोरीको सुन खरिद गर्ने सुन पसल सञ्चालक हुन्।
गएको असार १ गते बनेपा नगरपालिका–५ स्थित रविओपी बसपार्क अगाडि धुलिखेल–१ निवासी ५२ वर्षीया निरकुमारी घोरासाइने बेहोश बनाई सुनका गरगहना, नगद र मोबाइल लुटपाट गरेको घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेका डिएसपी कार्कीले बताए।
उक्त लुटपाटको घटनापछि घटनास्थल आसपासका सीसीटीभी फुटेज विश्लेषण गर्दा बा९१ प ६७५३ नम्बरको पल्सर मोटरसाइकलमा आएका दुई जनाले बेहोश हुने औषधि खुवाएर लुटपाट मच्चाएको देखिएको र सोही मोटरसाइकल धनी खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार आरोपितहरूले बैंकमा पैसा साटिदिने बहाना बनाई पीडितलाई नसालु पदार्थ मिसाइएको ‘फ्रुटी’ पिउन दिएका थिए। बेहोस भएपछि पीडितको सुनका गरगहना, नगद र मोबाइल लुटिएको थियो। असार ७ गते चोरीमा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ परेका बुद्धकुमार श्रेष्ठको बयानका आधारमा केदार श्रेष्ठलाई असार ११ गते भक्तपुरको मध्यपुरथिमिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा लुटिएको सुन भक्तपुरस्थित जय शिव शक्ति ज्वेलर्समा बिक्री गरिएको खुलेपछि प्रहरीले पसलमा खानतलासी गरेको थियो। त्यसक्रममा चोरीको सुन बरामद हुनुका साथै पसल सञ्चालक नवराज घिमिरेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू निरकुमारी घोरासाइनेमाथिको घटनामा मात्र नभई अन्य घटनामा पनि संलग्न रहेको खुलेको छ। अनुसन्धानका क्रममा उनीहरूले ७ वैशाख २०८३ मा बनेपा–७ धनेश्वरस्थित पुल नजिक मण्डनदेउपुर नगरपालिका–४ निवासी ६९ वर्षीय उदयनारायण तिमल्सिनालाई नसालु पदार्थ मिसाइएको फ्यान्टा पिउन दिई बेहोस बनाएर उनीसँग रहेको ७० हजार रुपैयाँ नगद र सुनको औंठी लुटेको पनि खुलेको छ।
प्रहरी अनुसन्धानले पक्राउ परेका व्यक्तिहरू विगत १८ वर्षदेखि यस्तै प्रकृतिका अपराधमा संलग्न रहेको देखाएको छ। साथै, बुद्धकुमार श्रेष्ठ र केदार श्रेष्ठले २०६५ सालमा पाल्पामा पनि नसालु पदार्थ सेवन गराई लुटपाट गरेको मुद्दामा सजाय भोगिसकेको तथ्य खुलेको प्रहरीको भनाइ छ।
प्रहरीले तीनै जनाविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।